जनताको चाहना सुशासन, तीव्र विकास र शान्ति हो: राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनताले सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह, मुलुकको तीव्र विकास, शान्ति र प्रगति चाहेको बताएका छन् ।

सोमवार लोकसेवा आयोगको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्रपति पौडेलले लोकसेवा आयोगको साढे सात दशक लामो इतिहासमा कायम रहेको निष्पक्षता, योग्यता र स्वच्छताको सिद्धान्तलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

आयोगप्रतिको अटुट जनविश्वास नै यसको सबैभन्दा ठूलो सम्पत्ति भएको उल्लेख गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य लक्ष्य पनि सुशासन, प्रभावकारी सेवा प्रवाह र तीव्र विकास भएको बताए ।

उनका अनुसार जनताको आकांक्षा पूरा गर्न राज्य संयन्त्रलाई समयअनुकूल, जनमुखी, प्रविधिमैत्री र परिणाममुखी बनाउन आवश्यक छ ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रका लागि संघर्ष र बलिदान गरेका नेपाली जनताले चाहेको भनेकै सुशासनमार्फत प्रभावकारी सेवा प्रवाह, मुलुकको तीव्र विकास, शान्ति र प्रगति नै हो,’ उनले भने, ‘यो उद्देश्य पूरा गर्न राज्य संयन्त्रलाई समयअनुकूल जनमुखी, सेवामुखी, प्रविधिमैत्री र परिणाममुखी बनाउन जरुरी छ ।’

राष्ट्रपति पौडेलले आयोगलाई आधुनिक प्रविधिको प्रयोग बढाउन र समयसापेक्ष परीक्षण विधि अपनाउन सुझाव दिए ।

उनले कार्यक्षेत्र विस्तारसँगै गुणस्तर कायम राख्नु र वैज्ञानिक तथा व्यवस्थित भावी योजना तयार गर्नु आयोगका लागि प्रमुख चुनौती भएको उल्लेख गरे ।

संविधानले अङ्गीकार गरेको समावेशी लोकतन्त्रको मर्मअनुसार योग्यता प्रणालीको रक्षा गर्नुपर्ने आवश्यकता रहेको पनि उनले बताए ।

राष्ट्रपति पौडेलले आयोगले कर्मचारी छनोट, बढुवा र परामर्शका क्षेत्रमा गरेको योगदान प्रशंसनीय रहेको उल्लेख गर्दै आगामी दिनमा यसलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =