उत्कृष्ट तीन कर्मचारीसहित आठ पुरस्कृत

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले यस वर्षको ‘वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार’ तीन कर्मचारीलाई प्रदान गरेको छ ।

पुरुष कर्मचारीतर्फ गाउँपालिकाको कार्यालय चिसापानीमा कार्यरत अधिकृत छैटौँ भीम मगर, महिला कर्मचारीतर्फ वडा कार्यालय बोपुङमा कार्यरत वडासचिव जिना राई र गाउँपालिकाको कार्यालयमा कार्यरत कार्यालय सहयोगी दिनेश विष्ट पुरस्कृत भएका हुन् ।

पुरस्कृत हुने कर्मचारी तथा कार्यालय सहयोगीलाई जनही रु १० हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत विनय निरौलाले जानकारी दिए ।

गाउँपालिकाले शनिबार आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा पुरस्कार वितरण कार्यक्रममा उत्कृष्ट अङ्क ल्याएर माध्यमिक परीक्षा (एसइई) उत्तीर्ण गर्ने छात्रछात्रासहित पाँच विद्यार्थीलाई पनि पुरस्कृत गरेको छ ।

गत वर्ष सम्पन्न एसइईमा ३.५१ जिपिए ल्याएर उत्तीर्ण गर्ने सिंहदेवी मावि बोपुङका छात्रा दीपशिखा राई र ३.३२ जिपिए अङ्क ल्याएर उत्तीर्ण गर्ने सोही विद्यालयका सुनिल कटवाललाई जनही रु १० हजारका साथमा प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ ।

यस्तै, जिल्लास्तरीय परीक्षा (डिएलइ)मा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण गर्ने तीन विद्यार्थीलाई समेत पुरस्कृत गरिएको छ । डिएलइमा ३.६२ जिपिएर ल्याएर उत्तीर्ण गर्ने सिंहदेवी माविकी ग्रिष्मा राई र ३.६ जिपिए अङ्क ल्याएर उत्तीर्ण गर्ने सोही विद्यालयका अविनाश राई, चिसापानी नमूना माविका छात्र संयोग पोखरेललाई जनही रु १० हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी तथा उत्कृत्ट अङ्क ल्याएर परक्षा उत्तीर्ण गर्ने विद्यार्थीहरुलाई गाउँपालिका प्रमुख अरुणादेवी राई, उपप्रमुख खेमबहादुर खड्का र प्रमुख प्रशासकीय अधिकृत सुमन गुराइँले पुरस्कृत वितरण गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − two =