कतारले स्विट्जरल्यान्डलाई बराबरीमा रोक्दै जोड्यो पहिलो अंक

काठमाडौं । फिफा विश्वकप २०२६ मा एसियन कप च्याम्पियन कतारले ऐतिहासिक पहिलो अंक जोडेको छ । दोस्रो विश्वकप अनुभव लिइरहेको कतारले शनिबार मध्यराति समूह ‘बी’को खेलमा स्विट्जरल्यान्डसँग १–१ को बराबरी खेल्यो ।

होमाम एल अमिनको क्रसलाई सदुपयोग गर्दै सेन्टरब्याक तथा कप्तान बोआलेम खुखीले हेडरमार्फत ९०+(४) मिनेटमा बललाई जाली चुमाए । गोल अनि फाइनल ह्विस्सलपछि युलियन लापोटिगेको नेतृत्वमा रहेको कतारको ‘सेलिब्रेस’ हेर्नलायक थियो ।

स्विट्जरल्यान्डले निर्धारित ९० मिनेट कतारमाथि एकतर्फी दबाब बनाएको थियो । पहिलो हाफमा मात्र स्विट्जरल्यान्डबाट ६ सट्स अन टार्गेट सम्भव भएका थिए ।

यसबीच खेलको १७औं मिनेटमा स्ट्राइकर ब्रिल एम्बोलोले पेनाल्टीमा गोलकिपर महमुद अबुनादालाई बिट गरे । यसअघि मिडफिल्डर रेमो फ्रेउलरलाई अबुनादाले फउल गरेपछि स्विट्जरल्यान्डले सेटपीस पाएको थियो ।

दोस्रो हाफमा पनि स्विट्जरल्यान्डले केही राम्रा अवसरलाई सदुपयोग गर्न सकेन । कतार अधिकांश समय ‘लो ब्लक’मै खेलिरहेको थियो । तर, अन्त्यमा स्विट्जरल्यान्ड अंक बाँध्न बाध्य भयो ।

समूह ‘बी’को पहिलो खेलमा पनि सह–आयोजक क्यानडाले बोस्नियासँग १–१ को बराबरी खेलेको थियो ।

कतारले सन् २०२२ मा घरेलु भूमिमा समूहका तीनवटै खेलमा पराजय बेहोरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =