पुराना दलको विकल्पमा २ स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक: डा. बाबुराम भट्टराई

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना राजनीतिक दलहरू आफ्नै कमजोरीका कारण पतनको मार्गमा रहेको दाबी गर्दै अब देशमा नयाँ वैकल्पिक शक्तिहरूको उदय अनिवार्य भएको बताएका छन् ।
शनिवार काठमाडौँमा आयोजित नयाँ शक्ति स्थापना दिवसको अवसरमा बोल्दै डा. भट्टराईले अर्थशास्त्रको ‘रचनात्मक ध्वंस’ को नियम झैँ नयाँ पद्धतिको विकासका लागि पुराना शक्तिहरूको अन्त्य आवश्यक रहेको उल्लेख गरेका हुन् ।
भट्टराईले नयाँ शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विज्ञान, प्रविधि र मध्यम वर्गको भावनालाई बुझेर अगाडि बढेकाले सफलता पाएको बताए ।
यद्यपि रास्वपाको वैचारिक धार ‘राइट अफ सेन्टर’ (दक्षिणपन्थी ढल्काइ) रहेको टिप्पणी गरे ।
देशको बहुसङ्ख्यक जनता अझै पनि गरिबीको रेखामुनि रहेको र ७०/८० प्रतिशत नागरिक शिक्षा, स्वास्थ्य र सम्मानजनक रोजगारीबाट वञ्चित रहेको तथ्यलाई नजरअन्दाज गर्न नहुनेमा उनले जोड दिए । पूर्वप्रधानमन्त्री भट्टराईले पुराना शक्तिहरूको विकल्पमा कम्तीमा दुई वटा प्रमुख वैकल्पिक शक्तिहरू हुनुपर्ने धारणा राखे ।
उनकाअनुसार एउटा रास्वपा जस्तो ‘राइट अफ सेन्टर’ र अर्को प्रगतिशील विचार बोक्ने ‘लेफ्ट अफ सेन्टर’ (मध्य–वामपन्थी) शक्तिबीच प्रतिस्पर्धा हुनुपर्छ । यी दुई धारले राष्ट्रियताको मुद्दामा सहकार्य र नीतिगत विषयमा प्रतिस्पर्धा गर्दा मात्रै देशको हित हुने उनको तर्क छ ।
उनले भने ‘उहाँहरूलाई अहिले शङ्काको सुविधा दिनुपर्छ । भर्खरै उदय भएको शक्तिलाई सुरुमै आलोचना गर्नुभन्दा पनि काम गर्ने अवसर दिनुपर्छ । नेपालको जातीय, क्षेत्रीय विविधता र आर्थिक पछौटेपनलाई केवल बजारको भरमा मात्र छाड्न सकिँदैन । यसका लागि राज्यको सक्रिय भूमिका भएको विकासमुखी बाटो आवश्यक छ ।’
आफ्नो राजनीतिक अभियानका क्रममा ‘नयाँ शक्ति’ को ब्रान्ड स्थापित भइसकेपछि पटक–पटक नाम परिवर्तन गर्दा जनतामा अन्योल उत्पन्न भएको र त्यो आफूहरूको कमजोरी रहेको उनले स्वीकार गरे ।
डा. भट्टराईले पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ नरहेको भन्दै वैकल्पिक शक्तिहरू नै अबको निकास भएको दाबी गरे । बहुमत वा दुई–तिहाइको सरकारले मात्रै निकास नदिने उदाहरण विगतका सरकारहरूले पुष्टि गरिसकेको उनको भनाइ छ ।








