‘भारतीय पर्यटकको आगमनले पोखराको होटल र पर्यटकीय स्थलहरू भरिभराउ’

काठमाडौं । भारतीय पर्यटकको उल्लेख्य आगमनसँगै पर्यटकीय नगरी पोखरा यतिबेला भरिभराउ बनेको छ ।

लेकसाइड क्षेत्रमा पर्यटकको चहलपहल बढ्दा डुङ्गा सयरदेखि ट्रेकिङ गतिविधिसम्म अत्यधिक व्यस्त देखिएको हो ।

फेवातालमा एकै दिन ५ हजारभन्दा बढी पर्यटकले डुङ्गा सयर गरेको डुङ्गा व्यवसायीहरूले बताएका छन् ।

तालमा दिनभर डुङ्गाको आवतजावत बाक्लो रहँदा व्यवसायीहरू उत्साहित बनेका छन् । त्यस्तै,अन्नपूर्ण क्षेत्रलगायत आसपासका पदमार्गहरूमा पनि भारतीय पर्यटकको उल्लेख्य उपस्थिति देखिएको छ ।

पर्यटकको बढ्दो चापसँगै पोखराका अधिकांश होटल भरिभराउ भएका छन् । होटलहरू पर्यटकले भरिएपछि व्यवसायीहरू खुशी देखिएका छन् ।

भारतिय पर्यटकको अत्याधिक चापका कारण लेकसाइड तथा मुख्य पर्यटकीय क्षेत्रमा पार्किङ व्यवस्थापन चुनौतीपूर्ण बनेको छ । सडक किनारमा सवारीसाधनको भीड बढ्दा ट्राफिक व्यवस्थापनमा समेत दबाब परेको छ ।

नेपालमा वर्षातको समय अर्थात ‘अफसिजन’ मानिने मा पनि भारतीय पर्यटकहरूको उल्लेख्य उपस्थिति देखिएको छ । ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले यसलाई नेपालको पर्यटन क्षेत्रका लागि सुखद र सकारात्मक संकेतका रूपमा चित्रण गरे ।

छिमेकी मुलुक भारतमा बढ्दो गर्मी र त्यहाँ भइरहेको बिदाका कारण अहिले ठूलो संख्यामा भारतीयहरूले नेपाललाई आफ्नो प्रमुख गन्तव्य बनाएका छन् ।

विशेषगरी धार्मिक आस्थाका कारण मुक्तिनाथ र पशुपतिनाथ दर्शन गर्न आउनेहरूको संख्या उल्लेख्य रहेको छ ।

‘हिन्दु धर्ममा जन्मिएपछि एकपटक मुक्तिनाथ दर्शन गर्नुपर्छ भन्ने धार्मिक विश्वास र पछिल्लो समय मिडियाका कारण सिर्जित सकारात्मक सन्देशले पर्यटकको आगमन बढेको हो ।’ अध्यक्ष आचार्यले भने ।

अहिले नेपाल आउने भारतीय पर्यटकहरूमध्ये युवा पुस्ता विशेषगरी शाहसिक पर्यटनतर्फ आकर्षित देखिएका छन् । मर्दी हिमाल, अन्नपूर्ण आधार शिविर (एबिसी) र उपल्लो मुस्ताङ जस्ता क्षेत्रमा भारतीय युवाहरूको बाक्लो उपस्थिति रहेको आचार्यले जानकारी दिए ।

उनकाअनुसार पदमार्गहरूमा पर्यटकको चाप यति धेरै छ कि ‘अफसिजन’ मा पनि बास बस्नका लागि कोठा पाउन समेत कठिन भइरहेको छ ।

युवाहरू पदयात्रा र बाइकिङमा रमाउँदा पाको उमेरका पर्यटकहरू भने धार्मिक स्थलहरूको भ्रमणमा केन्द्रित छन् ।

पर्यटकको संख्या बढ्नु उत्साहजनक भएपनि उनीहरूको व्यवस्थापनमा देखिएका केही चुनौतीहरूतर्फ पनि आचार्यले सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । विशेषगरी बसमा सामूहिक रूपमा यात्रा गर्ने पर्यटकहरूले सडक किनारमै खाना पकाउने र खानपान गर्ने गर्दा दृश्य छरपस्ट देखिने गरेको उनले बताए ।

यस प्रकारका पर्यटकहरूलाई व्यवस्थित गर्न प्रमुख पर्यटकीय र धार्मिक मार्गहरूमा विश्राम केन्द्र (सेन्टर) हरू निर्माण गर्नुपर्ने उनको सुझाव छ ।

पर्यटकहरूलाई उचित स्वागत र व्यवस्थापन गर्नु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्दै अध्यक्ष आचार्यले यसबाट अन्तर्राष्ट्रिय स्तरमा नेपालको पर्यटन क्षेत्रबारे सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे ।

उनले धार्मिक र साहसिक दुवै प्रकारका पर्यटकलाई आवश्यक न्यूनतम पूर्वाधार र सुविधा उपलब्ध गराउन ढिलाइ गर्न नहुनेमा जोड दिए ।

‘धार्मिक पर्यटकहरूका लागि ठाउँ–ठाउँमा उचित व्यवस्थापन भएका केन्द्रहरू निर्माण गर्न सके उनीहरूले त्यहीँ खाना पकाउने, नुहाउने र कपडा धुने जस्ता कार्यहरू व्यवस्थित रूपमा गर्न सक्थे ।’ उनले भने ।

होटल संघ पोखराका अध्यक्ष लक्षुमण सुवेदीकाअनुसार विगत ३२ वर्षकै इतिहासमा यस वर्ष सबैभन्दा बढी भारतीय पर्यटकहरू नेपाल भित्रिएका छन् ।

नेपाली नयाँ वर्षको आसपासदेखि शुरु भएको पर्यटकको चाप जेठको अन्तिमसम्म पनि निरन्तर रहेको छ । यस अवधिमा पोखराका होटलहरूको अकुपेन्सी ९० प्रतिशतको हाराहारीमा पुगेको संघले जनाएको छ ।

पोखरा मात्र नभई गण्डकी प्रदेशका अन्य धार्मिक तथा पर्यटकीय स्थलहरू जस्तै मुक्तिनाथ र विभिन्न पदयात्रा मार्गहरूमा समेत भारतीय पर्यटकको संख्या उत्साहजनक देखिएको छ ।

अध्यक्ष सुवेदीकाअनुसार यस वर्ष भारतीय पर्यटक बढ्नुमा प्रवद्र्धन र सामाजिक सञ्जालको प्रभाव रहेको छ । गत वर्षदेखि फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमार्फत मुक्तिनाथ र नेपालका अन्य पर्यटकीय क्षेत्रहरूको व्यापक प्रचारप्रसार भएकाले भारतीय पर्यटकहरूमा नेपाल भ्रमणको उत्साह बढेको पाइएको छ ।

भारतमा बढ्दो गर्मी छल्न र बिदाको सदुपयोग गर्नका लागि भारतीय नागरिकहरूले नेपाललाई उपयुक्त र उत्कृष्ट गन्तव्यका रूपमा रोजेका छन् ।

उनले भने, ‘मेरो विचारमा मैले पर्यटन क्षेत्रमा ३२ वर्ष बिताएँ । यस अवधिमा यति धेरै भारतीय पर्यटक र यति विविध प्रकारका पर्यटकहरू आएको अवस्था सायद पहिलो पटक देखिएको जस्तो लाग्छ । किनभने यस समयमा हाम्रा होटलहरूको अकुपेन्सी दर ९० प्रतिशतभन्दा बढी, करिव ९० प्रतिशतको हाराहारीमा रहेको थियो । केही दिनयता केही कमी भए तापनि, बीचको समयमा एक महिनाभन्दा बढी अवधिसम्म भारतीय पर्यटकहरूको उल्लेखनीय आगमन रह्यो । हामी नेपाली नयाँ वर्षको समयबाट अहिले जेठ महिनाको अन्तिम चरणसम्म आइपुग्दा, एक महिनाभन्दा बढी समय भारतीय पर्यटकहरू पोखरामा मात्र नभई गण्डकी प्रदेशका विभिन्न स्थानहरू, मुक्तिनाथ लगायतका गन्तव्यहरूमा पुगेका छन् । साथै, पदयात्रामा जाने भारतीय पर्यटकहरूको सङ्ख्या पनि उल्लेखनीय रूपमा बढेको छ । मैले धेरै भारतीय पर्यटकहरूसँग यो पटक यति धेरै पर्यटक किन आएका हुन् भन्ने विषयमा जिज्ञासा राखेँ । धेरैजसोले गत वर्ष मुक्तिनाथ लगायतका पर्यटकीय स्थलहरूको सामाजिक सञ्जाल–फेसबुक, टिकटक तथा अन्य माध्यमहरूबाट व्यापक प्रवद्र्धन भएको कारण आफूहरू ती स्थानहरू भ्रमण गर्न उत्साहित भएको बताए। साथै, गर्मी छल्न र बिदाको सदुपयोग गर्न नेपाल उपयुक्त गन्तव्य भएकाले यहाँ आएको प्रतिक्रिया पनि प्राप्त भयो ।’

भारत सरकारले विदेशी मुद्रा (डलर) सञ्चितिमा जोड दिँदै भारतीय मुद्रा सहजै चल्ने छिमेकी मुलुकहरूको भ्रमण गर्न आफ्ना नागरिकलाई प्रोत्साहित गरेकाले पनि पर्यटकको संख्या बढेको विश्लेषण गरिएको छ ।

भारतको बिहार लगायतका सीमावर्ती राज्यहरूबाट एकै दिनमा नेपाल प्रवेश गर्न सकिने र छोटो अवधिमा धेरै ठाउँ घुम्न सकिने भएकाले भारतीय युवा पुस्ता नेपालप्रति आकर्षित भएको देखिन्छ ।

विशेषगरी बिहारमा मदिरा निषेध गरिएकाले पनि त्यहाँका युवाहरू मनोरञ्जनका लागि नेपाल आउने गरेको पाइएको छ । भारत सरकारले ज्येष्ठ नागरिकहरूलाई तीर्थाटनका लागि उपलब्ध गराउने विभिन्न सहुलियतका कारण पशुपतिनाथ र मुक्तिनाथ दर्शन गर्न आउने धार्मिक पर्यटकहरूको संख्या पनि उत्तिकै रहेको छ ।

समग्रमा, प्राकृतिक सौन्दर्य, धार्मिक महत्व र सहज यातायातका कारण भारतीय पर्यटकहरूका लागि नेपाल एक पहिलो रोजाइको गन्तव्य बनेको होटल संघ पोखराले जनाएको छ ।

छिमेकी मुलुक भारतमा बढेको अत्यधिक गर्मी छल्न नेपाल आउने पर्यटकका कारण पर्यटकीय नगरी पोखरामा चहलपहल निकै बढेको हो । विशेषगरी फेवातालमा डुङ्गा सयर गर्ने भारतीय पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएपछि स्थानीय व्यवसायीहरूले राहत महशुस गरेका छन् ।

फेवा डुङ्गा व्यवसायी समितिका अध्यक्ष बलराम गिरीकाअनुसार हाल पोखरामा भारतीय पर्यटकको चाप उच्च रहेको छ । भारतबाट आउने पर्यटकहरू पोखरा भ्रमण, फेवातालमा डुङ्गा सयर र मुक्तिनाथ दर्शनका लागि जाने क्रम बढेको उनले जानकारी दिए ।

अध्यक्ष गिरीकाअनुसार अहिले फेवातालका आठवटै स्टेशनहरूबाट दैनिक ५ हजारदेखि ७ हजार जनासम्मले डुङ्गा सयर गरिरहेका छन् ।

‘पर्यटकको यो बाक्लो उपस्थितिले डुङ्गा व्यवसायीहरूलाई आर्थिक रूपमा ठूलो राहत मिलेको छ र यहाँको चहलपहल पनि निकै उत्साहजनक छ ।’ गिरीले भने ।

विगतका वर्षहरूको तुलनामा यस वर्ष भारतीय पर्यटकको आगमनमा वृद्धि भएको व्यवसायीहरूको अनुभव छ । भारतका विभिन्न सहरहरूमा तापक्रम ४४ देखि ४५ डिग्री सेल्सियससम्म पुगेका कारण त्यहाँका नागरिकहरू शीतल र रमणीय वातावरणको खोजीमा नेपाल आउने गरेका हुन् ।

पोखरा आइपुग्ने पर्यटकहरू यहाँको हिमालका श्रृङ्खला, पहाडी दृश्य र फेवातालको वातावरणबाट निकै प्रभावित हुने गरेको गिरीले बताए ।

भारतको अत्यधिक गर्मीबाट उम्किएर पोखराको शीतल मौसममा रमाउन पाउँदा पर्यटकहरूले खुशी व्यक्त गर्ने गरेको व्यवसायीहरूले जानकारी दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =