पर्यटकका आकर्षणमा तनहुँको ऐना पहरा

गण्डकी । गण्डकी स्थित तनहुँको ऐना पहरा पर्यटकका लागि आकर्षणको केन्द्रबन्दै गएको छ ।

पहराको निर्माण कार्य सम्पन्न भएपछि स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण केन्द्र बन्दै गएको हो । आँबुखैरेनी गाउँपालिका–४ मा रहेको सो पहरा पोखरा–मुग्लिन सडकखण्डमा अवस्थित छ ।

हालसम्म ७८ हजार ६३३ जनाले टिकट काटेर ऐना पहरा अवलोकन गरिसकेका छन् । अवलोकनकर्ताबाट रु ४५ लाख २२ हजार ९९० आम्दानी भइसकेको छ ।

पहरा निर्माण गर्न पालिकाले रु एक करोड ४० लाख लगानी गरेको गाउँपालिकाले जनाएको छ ।

एक समय झाडी र चट्टानले भरिएको स्थान अहिले आकर्षक पर्यटकीय गन्तव्यमा रूपान्तरण भएको छ ।

पहरामा निर्माण गरिएका जलपरी, बालउद्यान, हात्तीको मूर्ति, चट्टानमा कुँदिएका विभिन्न देवीदेवता, मातृत्व झल्काउने आकृति तथा हिमाली सौन्दर्य प्रतिबिम्बित गर्ने कलात्मक संरचनाले आगन्तुकको ध्यान खिच्ने गरेका छन् ।

ऐना पहराको मुख्य आकर्षणमध्ये झरना पनि एक हो । चट्टानबाट झर्ने पानीको दृश्य, वरपरको प्राकृतिक वातावरण र कलात्मक संरचनाको संयोजनले पर्यटकलाई लोभ्याउने गरेको बताइन्छ ।

गाउँपालिकाले यस स्थानमा स्काई साइक्लिनिङ, सिसाको पुल र सर्वसाधारणका लागि शौचालयसमेत निर्माण गरिएको छ ।

त्यस्तै यहाँ झरनामा नुहाउन, थकान मेटाउन, टिकटक बनाउन सर्वसाधारणको भीड लाग्ने गरेको छ ।

पर्यटन क्षेत्रको टिकट काउन्टरमा कार्यरत कर्मचारी सुशीला गुरुङले हालसम्म ५२ हजार ८१२ नेपाली नागरिक, १० हजार १०३ विद्यार्थी तथा १५ हजार ७६८ जना विदेशी पर्यटकले टिकट काटेर अवलोकन गरेका छन् भने ।

अवलोकन शुल्क नेपालीका लागि रु ५०, विद्यार्थी रु ३० तथा विदेशी पर्यटकका लागि रु १०० निर्धारण गरिएको छ ।

पर्यटन प्रवद्र्धनसँगै स्थानीयस्तरमा रोजगारी सृजनामा योगदान पुगेको छ । हाल सात जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । स्थानीय व्यवसाय, होटल तथा रेष्टुरेन्टमा समेत पर्यटक आगमनले सकारात्मक प्रभाव देखिन थालेको छ ।

स्थानीय सरकारको पहल, प्राकृतिक सौन्दर्यको संरक्षण र कलात्मक पूर्वाधार विकासको संयोजनले ऐना पहरा छोटो समयमै सफल पर्यटकीय गन्तव्यका रूपमा विकास भएको स्थानीयवासीहरू बताउँछन् ।

पहरा पर्यटकीयस्थलका रूपमा विकास भएसँगै यस क्षेत्रको आर्थिक गतिविधिमा सकारात्मक प्रभाव देखिन थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =