इमानदारी र समर्पण भए असम्भव केही छैन: अध्यक्ष ढकाल

काठमाडौँ । आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले पूर्ण समर्पण र इमानदारीका साथ काम गरेमा कुनैपनि कुरा असम्भव नरहेको बताएका छन् ।

आईएमई ग्रुपको २६ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष ढकालले आईएमईको सुरुवाती दिनहरू स्मरण गर्दै आफूहरूले शून्यबाट यात्रा प्रारम्भ गरेको उल्लेख गरे । रेमिट्यान्स सेवाबाट सुरु भएको आईएमई ग्रुपले अहिले २६ वर्षको अवधिमा विभिन्न क्षेत्रमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ । आफ्नो समग्र व्यावसायिक यात्रा ३५ वर्ष भन्दा धेरै भइसकेको जानकारी दिँदै ढकालले हाल ग्रुपले बैंकिङ तथा वित्तीय संस्था, पूर्वाधार विकास, पर्यटन, बीमा, सूचना प्रविधि (आईट) र डिजिटल पेमेन्ट जस्ता विविध क्षेत्रमा लगानी गरेको बताए ।

अध्यक्ष ढकालले अनौपचारिक माध्यमबाट भित्रिने रेमिट्यान्सलाई औपचारिक प्रणालीमा ल्याएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको कमाई सुरक्षित रूपमा परिवारसम्म पुयाउने उद्देश्यले यो यात्रा सुरु भएको स्पष्ट पारे । उनले आईएमईको यो सफलता कुनै एक व्यक्तिको मात्र नभई सम्पूर्ण टिमको सामूहिक प्रयास र मेहनतको परिणाम भएको बताए ।

उनले भने ‘हामीले एउटा सानो कोठाबाट व्यवसाय सुरु गरेका थियौँ, जहाँ एउटा फलामको फोल्डिङ खाट र एउटा सानो कुकर मात्र थियो । त्यही कोठा नै हाम्रो अफिस, भान्सा र सुत्ने ठाउँ थियो । आजको आधुनिक सुविधा सम्पन्न कार्यालयको तुलनामा ती दिनहरू सायद अहिले कथा जस्ता लाग्न सक्छन् । हामी सबैले सामूहिक स्वामित्व (ओनरसिप) लिएर अघि बढ्ने हो भने कुनैपनि व्यावसायिक गतिविधि र पूर्वाधार निर्माणका कार्यहरू सम्पन्न गर्न सम्भव छ ।’

उनले आगामी दिनमा पनि सामूहिक प्रयत्नलाई आत्मसात गर्दै अझै ठुला परियोजना र व्यावसायिक उचाइ हासिल गर्ने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + thirteen =