सरकारले बुढिगण्डकी जलविद्युत आयोजनालाई पन्छाउन खोज्यो: सांसद कँडेल

काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) सांसद डा. पुष्पराज कँडेलले बुढीगण्डकी जलविद्युत आयोजनालाई पन्छाउन खोजेको आरोप लगाएका छन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेस गरेको विनियोजन विधेयक २०८३ माथिको छलफलमा भाग लिँदै उनले उक्त कुरा बताएका हुन् ।

सांसद कँडेलले उक्त आयोजनाबारे बजेटमा वित्तीय व्यवस्थापनको कुनै खाका समेत नआएको भन्दै आपत्ति समेत जनाए । कृषि क्षेत्रलाई शीर्ष प्राथमिकता दिएको बजेटमा उल्लेख गरिएपनि सोही अनुसारको बजेटको व्यवस्थापन नभएको सांसद कँडेलको गुनासो थियो ।

उनले भने ‘बुढी गण्डकीको बारेमा मैले पटक पटक भनिराखेको छु । फेरि पनि म के उठाउँछु भने प्राधिकरण मोडलमा लैजाने भनिएको छ बजेटमा । यो चाहिँ फुटबललाई हानेको जस्तो कहिले प्राधिकरणबाट समितिमा लैजाने, कहिले समितिबाट प्राधिकरणमा लैजाने । तर त्यसको वित्तीय खाका के हो ? र कसरी जान्छ ? भन्ने कुरा यसमा कुनै प्रस्ट हिसाबले आएको छैन । खाली पन्छयाउन खोजेको मात्रै मैले देख्छु । एउटा यो पुँजीगत खर्च नहुने एउटा अवस्था हाम्रो रहेको छ । तर पुँजीगत खर्च कसरी बढाउने भन्ने कुरा समग्र बजेट वक्तव्यमा पनि आएको छैन । र यो विनियोजन विधेयकमा पनि आएन ।’

सांसद कँडेलले राष्ट्रिय गौरवको आयोजनालाई अघि बढाउनका लागि आवश्यक बजेटको व्यवस्था पनि नगरेको भन्दै सरकारको आलोचना गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 7 =