‘चीन भ्रमणमा परराष्ट्रमन्त्रीले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो भनी स्पष्ट अडान राख्नुपर्दछ’

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्वु ओलीले परराष्ट्रमन्त्री शिशिर खनाललाई चीन भ्रमणमा जाँदा सीमा समस्याका विषयमा स्पष्ट धारणा राख्न सुझाव दिएकी छन् ।

परराष्ट्रमन्त्री खनालले भारत भ्रमणको क्रममा उक्त कुरा नउठाएकोमा आपत्ति जनाउँदै उनले चीन भ्रमणमा भने त्यसलाई स्पष्ट रूपमा राख्नु सचेत गराएकी हुन् ।

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक ओलीले परराष्ट्रमन्त्री खनालले संसदमा पनि सीमा समस्या नभई सीमा व्यवस्थापनको कुरा गरेर यसको गम्भिर्यतालाई नबुझेको जिकिर गरिन् । उनले सीमा व्यवस्थापन र सीमा विवादबारे सांसदहरूले पनि अध्ययन गरेर धारणा बनाउन आवश्यक रहेको बताइन् ।

प्रमुख सचेतक ओलीले भनिन् ‘दिल्लीको औपचारिक वार्ताहरूमा कहीँ कतै पनि सीमाको विषय उठाउनु भएन । यतिसम्मकी नेपाली पक्षले निकालेको कुनै पनि प्रेस विज्ञप्तिमा सीमा विवादको विषयमा एक शब्द पनि उठेन । भ्रमण सकिएपछि दिल्लीमा पत्रकारहरूसँग बन्द कोठामा केही कुरा उठाउनु भयो । काठमाडौँ फर्केपछि एक प्रेस नोट दिनु भयो । त्यसमा एक शब्द पनि सीमा विवादबारे छैन । पछि पत्रकारले सोधेपछि केही बोल्न बाध्य हुनु भयो । संसदमा पनि उहाँले सीमा विवादको बारेमा कुरा उठाउनु भएन । खाली सीमा व्यवस्थापनको नियमित काम जस्तो जंगे पिलरको व्यवस्थापन र त्यसको बैठकको विषय उठाउनु भएको छ । सीमा व्यवस्थापन केही विषय होइन । वार्षिक रूपमा आफैमा हुने कुरा हो । तर नेपाली नक्साको विषय भने फरक हो । यहाँ रहनु भएका सांसदहरूलाई पनि सीमा व्यवस्थापन र विवाद के हो ? हामीले अध्ययन गर्नुपर्ने आवश्यकता छ । विगत ७ वर्षमा सभामुख महोदय नेपालले लेख्ने प्रेस विज्ञप्तिहरूमा सीमाको विवाद जहिले पनि रहन्थ्यो । पहिलो पटक हाम्रो प्रेस नोटबाट यो हटेको छ । यसमा म यहाँको ध्यानाकर्षण गराउन चाहन्छु । यो गम्भीर विषय हो । परराष्टमन्त्रीज्युसँग परराष्ट्रसचिवज्यू, भ्रमणमा जानु भयो । त्यो पनि एउटा कौतुहलताको विषय रहेको छ । परराष्ट्रमन्त्री फेरी पनि चीन जाँदै हुनुहुन्छ । उहाँले जसरी एउटा बन्द कोठामा मिडियामा सशक्त रूपले लिपुलेक, लिम्पियाधुरा, कालापानी हाम्रो हो भनेर भन्नु भयो, त्यो अव उहाँ मित्रराष्ट्र चीनमा जाँदै हुनुहुन्छ । त्यहाँको प्रेस नोटमा, त्यहाँको डिप्लोम्याटिक टेबलमा यी शब्दहरू उच्चारण होस भन्ने शुभकामना पनि दिन चाहन्छु ।’

प्रमुख सचेतक ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी भन्नेकुरा सरकारले स्पष्ट भएर छिमेकी मुलुकसँग कूटनीति संवाद गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 7 =