विश्वकप २०२६: उद्घाटनमा शाकिराले डाइडाई प्रस्तुत गर्ने, रोनाल्डोको अन्तिम विश्वकप

काठमाडौं । फुटबलको सबैभन्दा ठूलो महाकुम्भ मानिने फिफा विश्वकप २०२६ सुरु हुन अब धेरै समय बाँकी छैन । अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने विश्वकपले यसपटक नयाँ इतिहास रच्दैछ । ४८ टोलीको सहभागितासहित हुने यो विश्वकप आकार, खेल संख्या र आकर्षणका हिसाबले अहिलेसम्मकै सबैभन्दा ठूलो संस्करण हुनेछ ।
विश्वकप उद्घाटन समारोहमा विश्वभरका फुटबल संघका प्रतिनिधि, फुटबल लिजेन्ड, कलाकार र स्टारहरूको उपस्थिति रहनेछ । चर्चित गायिका शाकिरा र बर्ना बोइले विश्वकपको आधिकारिक गीत ‘डाइडाई’ प्रस्तुत गर्ने कार्यक्रम छ । अमेरिका र क्यानडामा पनि छुट्टाछुट्टै उद्घाटन समारोह आयोजना गरिनेछ ।
विश्वकप सुरु भएसँगै विश्वको ध्यान फेरि एकपटक फुटबलमै केन्द्रित हुनेछ । उमेर, जात, धर्म, संस्कृति, धनी–गरिब वा राजनीतिक पहिचानभन्दा माथि उठेर समर्थकहरू एउटै भावनामा रमाउनेछन् । तर यसपटकको विश्वकप केवल उपाधिको प्रतिस्पर्धा मात्र होइन, एउटा युगको अन्त्यको संकेत पनि हुन सक्छ ।
४१ वर्षीय क्रिस्टियानो रोनाल्डोले यसअघि नै ‘दिस इज माई लास्ट डान्स’ भन्दै यो आफ्नो अन्तिम विश्वकप हुनसक्ने संकेत गरिसकेका छन् । राष्ट्रिय टोलीबाट २ सय २७ खेल खेलिसकेका रोनाल्डो पुरुष फुटबल इतिहासकै सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडी हुन् । युरो कप, नेसन्स लिग, च्याम्पियन्स लिग र पाँच पटकको बालोन डीओर जितिसकेका उनले अझैसम्म विश्वकप उपाधि भने जित्न सकेका छैनन् । त्यसैले उनको अन्तिम लक्ष्य विश्वकप ट्रफी उचाल्नु हुनेछ ।
अर्कोतर्फ ३८ वर्षीय लियोनेल मेस्सी अर्जेन्टिनालाई लगातार दोस्रो विश्वकप जिताउने लक्ष्यसहित मैदानमा उत्रनेछन् । डिएगो म्याराडोनापछि लगातार दुई विश्वकप जिताउने कप्तान बन्ने अवसर मेस्सीसामु छ । विश्वकपमा २६ खेल खेलिसकेका मेस्सी यस प्रतियोगिताको इतिहासमै सर्वाधिक खेल खेल्ने खेलाडी हुन् । अर्जेन्टिनाका लागि २ सय अन्तर्राष्ट्रिय खेल पूरा गर्न उनलाई अब केवल एक खेल आवश्यक छ ।
यसपटकको विश्वकपमा अनुभव र युवाशक्तिको रोचक संगम पनि देखिनेछ । स्कटल्याण्डका गोलकिपर क्रेग गोर्डन ४३ वर्षको उमेरमा विश्वकप खेल्ने तयारीमा छन् भने सहआयोजक मेक्सिकोका गिल्बर्टो मोरा १७ वर्षको उमेरमै विश्वकप डेब्यु गर्ने तयारीमा छन् । सन् २००१ मा गोर्डनले व्यावसायिक फुटबल सुरु गर्दा मोरा जन्मिएकै थिएनन् । एउटै प्रतियोगितामा २५ वर्षको उमेर अन्तर भएका खेलाडीहरूको सहभागिता आफैंमा विशेष हुनेछ ।
सन् २०२२ को कतार विश्वकपमा ६४ खेल भएकोमा यसपटक १०४ खेल हुनेछन् । ३९ दिनसम्म चल्ने प्रतियोगितामा ४८ राष्ट्रका १ हजार २ सय ४८ खेलाडी सहभागी हुनेछन् । सबैभन्दा धेरै खेलाडी इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट रहनेछन् । सिटीका १९ खेलाडी १२ फरक राष्ट्रबाट विश्वकप खेल्नेछन् ।
रेकर्डको चर्चा गर्दा जर्मनीका मिरोस्लाभ क्लोजे विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता हुन् । उनले १६ गोल गरेका छन् । मेस्सी १३ गोलसहित नजिक छन् र आगामी विश्वकपमा यो कीर्तिमान तोड्ने सम्भावना बलियो छ ।
विश्वकप इतिहासमा अहिलेसम्म कुनै संस्करण नछुटाएको टोली ब्राजिल हो । सन् १९३० देखि हालसम्मका सबै विश्वकप खेलेको ब्राजिल पाँच पटकको विश्वविजेता पनि हो । ब्राजिलले विश्वकपमा ७६ खेल जित्दै २ सय ३७ गोल गरेको छ, जुन आफैंमा ऐतिहासिक उपलब्धि हो ।
यसपटक चार राष्ट्रले पहिलोपटक विश्वकप खेल्ने अवसर पाएका छन् । केप भर्डे, कुरासाओ, जोर्डन र उज्बेकिस्तानले पहिलोपटक विश्वकपको स्वाद चाख्नेछन् । ती देशका समर्थकका लागि यो केवल प्रतियोगिता होइन, वर्षौंको सपना पूरा भएको क्षण हुनेछ ।
पेले, डिएगो म्याराडोना, जिनेदिन जिदान र रोनाल्डिन्होको युगपछि जसरी नयाँ पुस्ता आयो, त्यसैगरी अब मेस्सी र रोनाल्डोको युग पनि अन्त्यतिर पुगेको छ । त्यसैले विश्वकप २०२६ पुरानो र नयाँ पुस्ताबीचको संक्रमणकालीन प्रतियोगिता बन्नेछ ।
सायद हामी रोनाल्डोको अन्तिम विश्वकप हेर्दैछौं, सम्भवतः मेस्सीको पनि । त्यसैले विश्वकप २०२६ केवल फुटबल प्रतियोगिता मात्र नभई इतिहास, भावना र सम्झनाको अर्को नाम बन्नेछ ।








