हुरी र वर्षाले टीकापुरमा केराखेती नष्ट

टीकापुर । बुधबार हुरीसँगैको मूसलधारे वर्षाले कैलालीमा दुई बिघामा गरिएको  केराखेती झन्डै ६० प्रतिशत नष्ट भएको छ ।

टीकापुर २ कोठारपुरका जनक चौधरीको खेतमा लगाइका केरा दुई महिनापछि बजार लैजानका लागि तयारी अवस्थामा थिए । एकै दिनको विपद्ले करिब रु १४ लाख क्षति पुगेको चौधरीले बताए ।

त्यसैगरी सोही दिनको विपद्ले टीकापुर ७, सत्तीका केरा किसान कृत ठकुल्लाको बारीमा करिब १०० बोट केरा हुरीले ढालेको छ । पाँच बिघामा केराखेती गरेका ठकुल्लाले यसवर्ष थप चार बिघामा खेती गरेका थिए ।

‘बारीमा गनेको छैन, सयौँ बोट नष्ट भएका छन्’, उनले भने, ‘हुरी र असिनासहित आएको पानीले केरा किसानलाई पीडामा पा¥यो’, उनले थपे ।

टीकापुर नगरपालिका–५ का किसान शेरबहादुर साउदको बारीमा हावाहुरीले क्षति पुगाएको छ । ‘बारीमा केरा ढलेका छन्, गन्न थालेमा तनाव हुन्छ’, उनले भने, ‘मजस्ता सयौँ किसानलाई आज पीडा भएको छ । केरा किसानले उत्पादन लिने बेलामा नोक्सानी बेहोर्नुपरेको छ ।’

टीकापुरमा केरा किसानको बालीमा हुरीले क्षति गरेको गुनासो धेरै आएकाले वडास्तरमा तथ्याङ्क सङ्कलन कार्य सुरु गरिएको टीकापुर नगरपालिका कृषि शाखा प्रमुख मोतिसिंह विकले बताए ।

‘धेरै किसानले फोन गरिरहनुभएको छ । ठूलो क्षति भएको छ’, उनी भन्छन्, ‘क्षतिको विवरण थाह पाउनका लागि वडावडामा तथ्याङ्क सङ्कलन कार्य सुरु गरेका छौँ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 4 =