संसदमा पठाउने विधेयकबारे मन्त्रालयहरूसँग छलफल गर्दै कानुन मन्त्रालय

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष ०८३/०८४ मा सङ्घीय संसदमा पठाउने विधेयकको सूची तयार पार्न आजदेखि मन्त्रालयहरूसँग छलफल प्रारम्भ गर्दै छ ।

कानुन मन्त्री सोविता गौतमले बिहीबार भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल र सचिव मदन भुजेल तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता वादी र सचिव राधिका अर्यालसँग छलफल गर्न लागेको कानुन मन्त्रालयले जनाएको छ ।

महिला मन्त्री वादीसँग ३ बजे र भूमि मन्त्री रावलसँग ४ बजे कानुन मन्त्रालयमा छलफल हुनेछ । मन्त्रीहरूसँग के-के विधेयकको तयारी भइरहेको छ भनेर ब्रिफिङ लिने र आवश्यक समन्वय गरिने बताइएको छ ।

विधायन ऐनअनुसार हरेक वर्ष असार मसान्तभित्र सङ्घीय संसदमा पेस गर्ने विधेयकहरूको प्राथमिकता क्रमसहितको सूची तयार गर्नुपर्ने कानुनी व्यवस्था छ । यसका लागि सम्बन्धित मन्त्रालयले वार्षिक कार्य तालिकाको रूपमा विधेयकको सूची कानुन मन्त्रालयमा पेस गर्नुपर्छ । ‘कानुन मन्त्रीले आगामी आर्थिक वर्षमा पेस गर्ने विधेयक फाइनल गर्न मन्त्रालयहरूसँग क्रमबद्ध छलफल गर्नुहुन्छ,’ मन्त्रीको सचिवालयले भनेको छ, ‘असारसम्म सबै विधेयकको सूची पठाउन कानुन मन्त्रालयले तयारी गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 10 =