आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू

चन्द्रपुर । चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी टिप्न र बेच्न भ्याइनभ्याइ छ ।

करिब पाँच कठ्ठा आफ्नै जमिनमा व्यावसायिक रूपमा लगाइएको तरकारी बालीले थरुनीलाई व्यस्त बनाएको छ भने आर्थिक रूपमा पनि सबल बनाएको देखिन्छ ।

लौका, करेला, घिरौलालगायतका तरकारी अहिले उनको बारीमा लटरम्म छन् । दैनिक रु एक हजार ५०० देखि दुई हजारसम्मको तरकारी बिक्री गर्ने गरेको तरकारी कृषक थरुनी बताउँछिन् । उनले आफ्ना ग्राहकलाई बारीबाटै तथा बाँकी रहेको तरकारी स्थानीय हाटबजारमा लगेर बिक्री गर्छिन् ।

दैनिक आम्दानी हुन थालेपछि थरुनीको आर्थिक अवस्थामा उल्लेखनीय सुधार आएको छ । आर्थिक सम्पन्नतासँगै महिला हिंसा तथा आफ्ना हकअधिकारबारे समेत सचेत र सक्षम भएको उनको भनाइ छ ।

वडा नं. ७ कै दिलकुमारी काफ्लेले पनि व्यावसायिक रूपमा बाख्रापालन गरेर मनग्य आम्दानी गर्न थालेकी छन् । बाख्रापालनबाट आफू आर्थिक रूपमा सबल बनेको उनी बताउँछिन् ।

सोही गाउँकी सुनिता माझीले पनि किराना पसल सञ्चालन गरेर आफूलाई व्यस्त मात्र राखेकी छैनन्, त्यसबाट हुने आम्दानीले पारिवारिक खर्च सहज रूपमा धानेकी छन् ।

यस्तै, राजपुर नगरपालिका–९ बैरियाकी मिनादेवीले पनि व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी गरिरहेकी तरकारी खेतीबाट भएको आम्दानीले छोराछोरी पढाउनेदेखि घरखर्च चलाउन सहज भएको उनी बताउँछिन् ।

यही ठाउँकी गुलसन खातुनले घरमै टेलरिङ व्यवसाय सञ्चालन गरेर स्वरोजगार बनेकी छन् । घरखर्च चलाउन र व्यक्तिगत खर्चका लागि कसैसँग पैसा माग्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

त्यस्तै, राजपुर–५ स्कुलटोलकी जरिमा खातुनले टेलरिङ व्यवसाय सञ्चालन गरेर तीन छोरा र तीन छोरीलाई पढाउन सफल भएको बताइन् ।

आर्थिक रूपमा सबल हुनुका साथै समाजमा हुने लैङ्गिक हिंसा न्यूनीकरण अभियानमा पनि उनी सक्रिय छिन् । यी केही उदाहरणबाहेक पनि यहाँका अधिकांश महिला कुनै न कुनै व्यवसायमार्फत आफू र परिवारको आर्थिक स्तर सुधार्न सक्षम बनेका छन् ।

यस्ता महिलाहरू जिल्लामा एक हजारभन्दा बढी रहेका छन् । ग्रामीण विकास केन्द्र नेपालद्वारा सञ्चालित लैङ्गिक हिंसा न्यूनीकरण परियोजनाअन्तर्गत आबद्ध करिब एक हजार महिला अहिले स्वरोजगारका साथै आर्थिक रूपमा सबल बन्दै गएका छन् ।

केन्द्रले इस्लामिक रिलिफ क्यानाडाको आर्थिक सहयोग तथा इस्लामिक रिलिफ नेपालको व्यवस्थापकीय सहयोगमा केही वर्षदेखि लैङ्गिक हिंसालाई सम्बोधन गर्न महिला, पुरुष तथा बालबालिकाको सामाजिक–आर्थिक सशक्तीकरण परियोजना सञ्चालन गर्दै आएको छ ।

राजपुर र चन्द्रपुर नगरपालिकाका १२ वटा वडामा विद्यमान लैङ्गिक हिंसालाई सम्बोधन गर्दै लक्षित समुदायको सामाजिक तथा आर्थिक सशक्तीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको तथा स्वास्थ्य सुधार सुनिश्चित गरी लैङ्गिक हिंसा न्यूनीकरण गर्ने लक्ष्य रहेको परियोजनाका प्रमुख धर्मेन्द्र साहले बताए ।

उनका अनुसार राजपुर नगरपालिकाका वडा नं। १, २, ३, ४, ५, ६ र ९ तथा चन्द्रपुर नगरपालिकाका वडा नं. १, २, ५, ७ र ८ मा आर्थिक सशक्तीकरणमार्फत लैङ्गिक हिंसाबाट प्रभावित वा उच्च जोखिममा रहेका महिलालाई समाजमा पुनःस्थापना गर्ने तथा लैङ्गिक हिंसासम्बन्धी जोखिम कम गर्दै जाने परियोजनाको मुख्य उद्देश्य रहेको छ ।

चन्द्रपुर नगरपालिकामा १७ वटा समूहमा आबद्ध ४३० जना तथा राजपुर नगरपालिकामा २३ वटा समूहमा आबद्ध ५८० जनाभन्दा बढी महिलालाई प्रतिव्यक्ति रु ६५ हजारका दरले व्यवसाय सञ्चालनका लागि नगद सहयोग गरिएको उनले जानकारी दिए ।

महिलाहरूको रुचिअनुसारका कार्यक्रमलाई सहयोग गर्दै आएको पनि उनले बताए । सोही परियोजनाअन्तर्गत सामाजिक सशक्तीकरणका लागि सामुदायिक सिकाइ तथा संरक्षण केन्द्र स्थापना गरी लैङ्गिक हिंसा न्यूनीकरणका कार्यक्रम सञ्चालन भइरहेको छ ।

किशोरीहरूलाई लक्षित गरी चन्द्रपुर नगरपालिकाका परियोजना सञ्चालित पाँचवटै वडामा १० सामुदायिक सिकाइ तथा संरक्षण केन्द्र सञ्चालनमा रहेका छन् भने राजपुर नगरपालिकाका सात वडामा १४ वटा केन्द्र सञ्चालनमा रहेका छन् । परियोजनाका अनुसार हालसम्म दुई हजार ४०० बालबालिकाले ती केन्द्रमार्फत रूपान्तरण कोर्स पूरा गरिसकेका छन् ।

विद्यालय वा मदरसाबाट बाहिर रहेका किशोरीहरूलाई रूपान्तरण विधिमार्फत जीवनोपयोगी सीप सिकाउँदै सामाजिक अभियानमा सहभागी गराउने तथा नेतृत्व विकासमा सहयोग गर्ने लक्ष्य राखिएको साहले बताए ।

महिलाहरूलाई व्यवसायसँगै आवश्यक तालिम, वित्तीय साक्षरता तथा समय–समयमा प्रशिक्षण दिने र घरका पुरुष सदस्यलाई समूहमा आबद्ध गरी लैङ्गिक हिंसा तथा महिला अधिकारबारे प्रशिक्षण दिइँदै आएको ग्रामीण विकास केन्द्रका अध्यक्ष पारस हुसेनले बताए ।

उनका अनुसार समूहका महिलालाई वित्तीय साक्षरता, अन्तरपुस्ता संवाद, नेतृत्व विकासलगायत विषयमा क्षमता अभिवृद्धि गर्ने खालका प्रशिक्षण सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 4 =