आगामी नेतृत्वले ऊर्जा क्षेत्रका नीतिगत सुधारमा केन्द्रित हुनुपर्नेछ: डाँगी

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले आगामी नेतृत्वले ऊर्जा क्षेत्रका नीतिगत सुधार र कानुनी व्यवस्थालाई कार्यान्वयनमा लैजान केन्द्रित हुनुपर्ने बताएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै डाँगीले ऊर्जा क्षेत्रका अझै धेरै नीतिगत सुधार जरुरी रहेकाले आगामी दिनमा त्यसतर्फ केन्द्रित हुने बताए ।

इप्पानमा अहिले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । सोहीअनुसार डाँगी अध्यक्ष केही दिनमै बन्दै छन् । वरिष्ठ उपाध्यक्ष डाँगीले आफूले वरिष्ठ उपाध्यक्षसहित हुन लागेको इप्पानको निर्वाचनमा उत्तम भ्लोन लामाको नेतृत्वमा रहेको टोलीलाई समर्थन गर्ने घोषणा गरे ।

उनले आफ्नो मत उक्त टोलीलाई दिने स्पष्ट पार्दै यो टिमलाई सघाउन सबैलाई आग्रह समेत गरे । ऊर्जा क्षेत्रलाई मर्यादित, व्यवस्थित र परिणाममुखी बनाउन सक्षम नेतृत्वको आवश्यकता रहेको बताउँदै उनले हाल ऊर्जा क्षेत्र चुनौतीपूर्ण अवस्थामा रहेको बताए । यस्तो समयमा अनुभवी र सक्षम टोलीको नेतृत्व आवश्यक छ ।

अहिलेको चुनावी दौरान हेर्दा लामाको टिमले ऊर्जा क्षेत्रका मुद्दालाई प्रभावकारी रूपमा अगाडि बढाउन सक्ने उनको विश्वास छ ।

उनले भने ‘आजसम्म हामी सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयासमै लागिरहेका थियौँ तर आज मैले पनि आफ्नो मत कहाँ हाल्ने भन्ने कुरा स्पष्ट गर्नुपर्छ भन्ने महसुस गरेको छु । मसँग पनि मताधिकार छ, र मैले आफ्नो मत कसलाई दिने भन्ने विषयमा खुला रूपमा धारणा राख्न चाहन्छु । म धेरै भोट माग्न चाहन्नँ, तर मेरो मत भने उत्तम ब्लोन लामाको नेतृत्वमा रहेको टोलीलाई जानेछ । आज यहाँ उपस्थित भएर र यसअघि पनि विभिन्न कार्यक्रममा उहाँहरूको प्रस्तुति र दृष्टिकोण सुनेपछि मैले आफ्नो मत यही टोलीलाई दिने निर्णय गरेको छु ।

नेतृत्वको जिम्मेवारीमा रहेको व्यक्तिका रूपमा म यो कुरा स्पष्ट रूपमा भन्न चाहन्छु । यो टोलीले संस्थाको मर्यादा, आचारसंहिता र व्यावसायिक मूल्यहरूलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ । हामीले अरूतर्फ औँला उठाउँदा चारवटा औँला आफूतर्फ फर्किरहेका हुन्छन् भन्ने कुरा सधैँ सम्झनुपर्छ । त्यसैले सबैभन्दा पहिले आफूलाई सुधार्दै र संस्थालाई मर्यादित बनाउँदै अघि बढ्नुपर्छ । अहिले ऊर्जा क्षेत्रका लागि निकै चुनौतीपूर्ण समय छ । यस्ता चुनौतीबीच अनुभवी, सक्षम र विद्वत् टोलीको आवश्यकता छ । मेरो विश्वास छ कि उत्तम भ्लोन लामाको नेतृत्वमा रहेको टोलीले यो क्षेत्रलाई सही दिशामा अगाडि बढाउन सक्छ ।’

डाँगीले संस्थाभित्र आचारसंहिता, व्यावसायिक मर्यादा र संस्थागत संस्कृतिलाई थप मजबुत बनाउनुपर्ने आवश्यकता औँल्याए । ऊर्जा क्षेत्रका सरोकारवालाले आत्मसमीक्षा गर्दै संस्थागत सुधारमा ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − thirteen =