विश्वकप २०२६: बहिष्कृत उत्कृष्ट प्लेइङ ११

काठमाडौँ । विश्व फुटबलको महाकुम्भ – फिफा विश्वकप २०२६ बिहीबार मध्यरातबाट सुरु हुँदै छ ।

१०४ खेल, ४८ टोली र १६ आयोजक सहर । जुन ११ मा मेक्सिकोबाट सुरु भएर जुलाई १९ मा न्यूयोर्कमा समापन हुने विश्वकपमा यसपालि केही स्टार खेलाडीहरूलाई फुटबल समर्थकले मिस गर्नेछन् ।

लियोनल मेसीको ‘म्याजिकल फिट’, कृस्टियानो रोनाल्डोको ‘एक्रोब्याटिक फिनिसेज’, विंगर लामिन यामलको त्यो जादु र किलियन एम्बाप्पेको त्यो स्पिड । यसपालिको विश्वकपमा पनि स्टार खेलाडीको मनोरञ्जनमा कत्ति पनि कमी महसुस हुनेछैन ।

तर, केही चर्चित खेलाडीहरूलाई भने फुटबल प्रेमीले देख्न पाउनेछैनन् । यी खेलाडीहरूमा बालोन डी’ओर प्रत्याशी पनि छन् । जस्तै कि पेरिस सेन्ट जर्मनका विंगर क्भिचा भारास्केलिया । उनको टोली जर्जिया स्पेन र टर्की रहेको समूहबाट छनोट हुन असफल भयो ।

यसै गरी म्यानचेस्टर सिटीका गोलकिपर जियानलुइजी डोनोरुम्मा र उनका इटालियन सहकर्मी निको बरेला पनि विश्वकपमा देखिनेछैनन् ।

यी हुन् विश्वकपमा नदेखिने उत्कृष्ट प्लेइङ ११

१) गोलकिपर: जियानलुइजी डोनोरुमा (म्यानचेस्टर सिटी/इटाली)
इङ्लिस क्लब म्यानचेस्टर सिटीका डोनोरुमा मोर्डन फुटबलका स्टार फुटबलर हुन् । युरोपियन च्याम्पियनसिप २०२१ मा इटालीले उपाधि चुम्दा डोनोरुमाले प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीको पुरस्कार जितेका थिए । तर, २७ वर्षीय डोनोरुमाले अहिलेसम्म विश्वकपको अनुभव लिन पाएका छैनन् । उनले २०१६ मा पहिलो पटक इटालीको जर्सी लगाएका थिए ।

इटालीले अन्तिम पटक सन् २०१४ को ब्राजिल विश्वकप खेलेको थियो । त्यसयता पछिल्लो तीन संस्करण इटाली विश्वकपमा छनोट हुन सकेको छैन । क्लब फुटबलमा भए जति सबै उपाधि जितेका डोनोरुमा विश्वकपको अर्को संस्करण ३१ वर्षका हुनेछन् । त्यो विश्वकपमा पनि इटाली छनोट हुन नसके उनको करिअरले पूर्णता पाउनेछैन ।

२. राइट ब्याक: जेरेमी फ्रिमपोङ (लिभरपुल/नेदरल्यान्ड्स)
जति बेला फ्रिमपोङ बायर लेभरक्युसनबाट लिभरपुल साढे २९ मिलियन पाउन्डमा अनुबन्ध भएका थिए । फ्रिमपोङमाथि सबैले ठुलो अपेक्षा राखेका थिए । राइट ब्याक फ्रिमपोङ जाबी ओलन्सोको नेतृत्वमा लेभरक्युसनले २०२३/२४ मा बुन्डेसलिगा जित्दाका प्रमुख सदस्य थिए ।

तर, फ्रिमपोङले प्रिमियर लिगमा इन्जुरी र लय दुबैमा सङ्घर्ष गर्नुपर्‍यो । जसका कारण कूल १२ खेलमा मात्र फ्रिमपोङले पहिलो रोजाई बाट खेल्न पाए ।

विश्वकपअघि फिफा विन्डोमा सम्पन्न अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा फ्रिमपोङले इक्वेडरविरुद्धको खेलमा वैकल्पिक खेलाडीका रूपमा प्लेइङ मिनेट पाएका थिए । तर, उनले मुख्य प्रशिक्षक रोनाल्ड कोमानको मन जित्न सकेनन् ।

फ्रिमपोङका लिभरपुल सहकर्मीहरू भर्जिल भान डाइक, रायै ग्राभनबर्च र कोडी ग्याक्पोले भने उत्तर अमेरिकामा नेदरल्यान्ड्सको जर्सी लगाउँदै छन् ।

३. सेन्टरब्याकः डीन होइसन (रियाल मड्रिड/स्पेन)
यसपालि स्पेनिस टोलीमा रियाल मड्रिडका खेलाडीको सङ्ख्या शून्य छ । सेन्टर ब्याक डीन होइसन यसै सिजन मात्र बोर्नमाउथबाट स्पेनिस जायन्ट रियालमा अनुबन्ध भएका थिए । तर, उनी अमेरिका जाने टोलीमा अटाउन सकेनन् ।

अघिल्लो वर्ष मात्र अन्तर्राष्ट्रिय क्याप जितेका होइसनले अहिलेसम्म स्पेनका लागि ७ खेल खेलेका छन् । सिजनका सुरुआती चरणमा प्रशंसनीय प्रदर्शन गरेका २१ वर्षीय होइसनले पछि आफ्नो उत्कृष्ट लयलाई कायम राख्न सकेनन् । जसका कारण मुख्य प्रशिक्षक डी ला फुयन्टेले उनको ठाउँमा बार्सिलोनाका एरिक गार्सियालाई बढी विश्वास गरे ।

४. सेन्टरब्याकः ह्यारी मग्वायर (म्यानचेस्टर युनाइटेड/इङ्गल्यान्ड)
म्यानचेस्टर युनाइटेडका सेन्टर ब्याक ह्यारी मग्वायरले इङ्गल्यान्डको अन्तिम टोलीमा स्थान बनाउन सकेनन् । जब मुख्य प्रशिक्षक थोमस टुचेलले अन्तिम नामावली सार्वजनिक गरे, मग्वायरले सामाजिक सञ्जालमार्फत आफ्नो दुखेसो नै पोखे । ६६ अन्तर्राष्ट्रिय क्याप जितेका मग्वायर आफ्नो तेस्रो विश्वकप खेल्ने मुडमा थिए । उनका लागि अमेरिकाको यात्रा पाँचौँ अन्तर्राष्ट्रिय इभेन्ट हुँदै थियो । तर, टुचेलको मनमा मग्वायर थिएन ।

टुचलले मग्वायरको ठाउँमा ज्यारेल क्वान्साह र एज्री कोन्सालाई जिम्मेवार थिए । विश्वकप २०२६ मा यदि कोही अनुभवी खेलाडी छुटेका छन् भने ती मग्वायर नै हुन् ।

५. लेफ्टब्याकः आल्भारो क्यारेरास (रियाल मड्रिड/स्पेन)

होइसनसँगै क्यारेरासले पनि आफ्नो पहिलो विश्वकप अनुभवका लागि अझै कुर्नुपर्ने भएका छन् । यस सिजन क्यारेरासले लामिन यामाल र मोहम्मद सलाह जस्ता स्टार विंगरहरुलाई ‘इन्डिभिज्योल डुवल्स’मा पाखा लगाएका थिए । तर, २२ वर्षीय क्यारेरास अमेरिका जाने टोलीमा अटाएनन् ।

डी ला फुयन्टेले बार्सिलोनाका एलेहान्ड्रो बाल्डेलाई पनि टोलीमा समावेश गरेका छैनन् । यी दुईको ठाउँमा चेल्सीका मार्क कुकुरेया र लेभरक्युसनका एलेहान्ड्रो ग्रिमाल्डोलाई मौका दिएका छन् ।

६. सेन्ट्रल मिडफिल्डरः एड्वार्डो कामाभिंगा (रियाल मड्रिड/फ्रान्स)
फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेस्च्याम्पले यसपालि केही चर्चित अनुहारलाई टोलीमा राख्न सकेनन् । पिएसजीका गोलकिपर लुकास सेभालिय र लोनमा टोटनहम हटस्पर्शबाट खेलिरहेका फरवार्ड रन्डाल कोला मुवानी अन्तिम २६ सदस्यीय टोलीमा अटाउन सकेनन् ।

यसबिच भर्सटाइल खेलाडीको छवि भएका मिडफिल्डर एड्वार्डो कामाभिंगाले पनि विश्वकप गुमाउँदै छन् । यस सिजन कामाभिंगालाई इन्जुरीले निकै सतायो । जसका कारण उनले हकलाग्दो प्लेइङ मिनेट पनि पाउन सकेनन् । एनगोलो काट्टे, औरिलियन चुवामेनी, एड्रिअन राबियोट र वारेन जायर–एमरी डेस्च्याम्पको सेन्ट्रल मिडफिल्ड विकल्प बने ।

७. सेन्ट्रल मिडफिल्डरः म्याटियस फर्नान्डेज (वेस्ट ह्याम/पोर्चुगल)
फर्नान्डेजलाई आँखा लगाइरहेका क्लबहरू धेरै छन् । आगामी सिजनका लागि समर ट्रान्सफर विन्डोमा वेस्ट ह्यामका फर्नान्डेजलाई लिन दौडधुप हुनेछ नै । तर, उनले विश्वकपमा आफ्नो कला भने प्रस्तुत गर्न पाउनेछैनन् ।

इङ्लिस प्रिमियर लिगमा आफ्नो प्रदर्शनका कारण सबैका ध्यान तानेका फर्नान्डेजले रोबोर्टो मार्टिनेजको अन्तिम टोलीमा स्थान बनाउन सकेनन् ।

यद्यपि २१ वर्षीय फर्नान्डेज एकै पटक मात्र पोर्चुगलको जर्सीमा देखिएका छन् । उनले गत अप्रिलमा अमेरिकाविरुद्ध खेलेका थिए । जति बेला उनले ब्रुनो फर्नान्डेजलाई प्रतिस्थापन गरेका थिए ।

वेस्ट ह्यामअघि फर्नान्डेजले साउथह्याम्पटनबाट खेलेका थिए । लगातार दुई सिजन उनी रेलिगेसनमा पर्ने टोलीको सदस्य रहे । त्यसैले पनि उनको विश्वकप सपनामा बाधा उत्पन्न गरेको बुझ्न सकिन्छ ।

८. राइट विंगरः कोल पाल्मर (चेल्सी/इङ्गल्यान्ड)
पछिल्लो साढे दुई वर्ष अट्याकिङ मिडफिल्डर÷विंगर कोल पाल्मरले विश्व फुटबलको ध्यान ताने । इङ्गल्यान्डले युरोपियन च्याम्पियनसिप २०२४ मा फाइनलसम्मको यात्रा गरेको थियो । पाल्मर प्रतियोगितामा खुबै छाए । त्यस सिजन पाल्मरले चेल्सीका लागि कूल २५ गोल पनि गरेका थिए ।

सिजन २०२४/ २ ५ मा पनि पाल्मरको लयले निरन्तरता पायो । उनकै प्रेरणादायी प्रदर्शनमा चेल्सीले पिएसजीलाई हराउँदै फिफा क्लब विश्वकपको पनि उपाधि जितेको थियो । तर, सिजन २०२५/२६ सिजन पाल्मरका लागि खास रहन सकेन । उनको प्रदर्शनले टुचेललाई प्रभावित बनाउन सकेन । यद्यपि इङ्गल्यान्डका समर्थकले उनका बारेमा अझै पनि तर्क गर्न छाडेका छैनन् ।

९. सेन्ट्रल अट्याकिङ मिडफिल्डरः जाओ पेड्रो (चेल्सी/ब्राजिल)
ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सिलोटीले जाओ पेड्रोको निर्णय एकदमै कठिन भएको स्विकारेका थिए । ब्राजिलियन समर्थकका लागि नेइमारको समावेशीकरण जति उत्साहपूर्ण थियो, पेड्रो टोलीमा नपर्नुको दुःख त्यो भन्दा बढी थियो ।

२४ वर्षीय पेड्रोले एन्सिलोटीको नेतृत्वमा पछिल्ला चारमध्ये तीनमा राष्ट्रिय टोलीको जर्सी लगाएका थिए । यस सिजन चेल्सीका ३२ गोलमा पेड्रोको संलग्नता छ । ६ वर्षयता इङ्लिस फुटबलमा रमाइरहेका पेड्रोले सन् २०२४ को कोपरा अमेरिका पनि गुमाएका थिए ।

उनीसँगै आर्सनलका ग्राब्रियल जेसुस र टोटनहमका रिचार्लिसनले पनि अन्तिम टोलीमा स्थान बनाउन सकेनन् । यी खेलाडीहरूको ठाउँमा एन्सिलोटीले इगोर थियागो, रायै र एन्ड्रिकलाई मौका दिएका छन् ।

१०. लेफ्ट विंगरः फिल फोडेन (म्यानचेस्टर सिटी/इङ्गल्यान्ड)
पाल्मर रियाल मड्रिडका राइट ब्याक ट्रेन्ट एलेक्सेन्डर आर्नल्ड इङ्गल्यान्डको टोलीमा समावेश हुन नसकेका स्टार खेलाडी हुन् । यद्यपि यसपालि इङ्गल्यान्डले सबैभन्दा बढी कसैलाई मिस गर्नेछ त ती लेफ्ट विंगर फिल फोडेन हुन् ।

सन् २०२० मा अन्तर्राष्ट्रिय डेब्यू गरेका फोडेनले अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रभुत्व भने जमाउन सकेका छैनन् । व्यावसायिक फुटबलमा भने उनको लय सानदार रहँदै आएको छ । २०२३/२४ सिजनमा उनले सबै प्रतियोगिता गरी कूल २७ गोल गरे । त्यो सिजन उनले ‘पिएफए प्लेयर अफ दि यर’को पुरस्कार पनि जिते । दुई वर्ष अगाडि फोडेनले आगामी विश्वकपमा स्थान बनाउँदैनन् भन्ने कुरा सायदै कसैले सोचेको हुनुपर्छ ।

११. स्ट्राइकरः करिम अडेमी (बोरुसिया डर्टमन्ड/जर्मनी)
पछिल्ला वर्षहरूमा बोरुसिया डर्टमन्डका फरवार्ड करिम अडेमीले आफूलाई विश्वकै उत्कृष्ट स्ट्राइकरका रूपमा आफूलाई उभ्याएका छन् । दुई वर्षअघि डर्टमन्डको च्याम्पियन्स लिग दौडमा उनले सानदार प्रदर्शन गरेका थिए ।

डर्टमन्ड २०२३/२४ को च्याम्पियन्स लिगमा उपविजेता बनेको थियो । दुई वर्षको अन्तरालमा अडेमीले आफ्नो लय र फिटनेसमा सङ्घर्ष गर्नुपरेको छ । जसका कारण उनले यसपालि २३ खेलमा मात्र पहिलो रोजाइमा खेल्न पाए ।

मुख्य प्रशिक्षक युलियन नागेल्सम्यानले उनको ठाउँमा डोर्टमन्डकै म्याक्सिमिलियन बेयरलाई समावेश गरेका छन् । अडेमीले सन् २०२५ मा सात पटक राष्ट्रिय टोलीको जर्सी लगाए । यस वर्ष उनले प्लेइङ मिनेट पाएका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − two =