लागुऔषध नियन्त्रणका लागि जनचेतना र बजेटमा जोड दिन सांसद अर्यालको माग

काठमाडाैं । नेकपा (एमाले) का सांसद पद्मा अर्यालले लागुऔषध दुव्र्यसनी नियन्त्रणका लागि केवल कानूनी कारबाही मात्र पर्याप्त नभएको बताएकी छन् ।

बिहीवार बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले लागुऔषध दुव्र्यसनी नियन्त्रणका लागि जनचेतना र पर्याप्त बजेटको व्यवस्था गर्नुपर्नेमा जोड दिइन् ।

सांसद अर्यालले लागुऔषधले व्यक्तिको मात्र नभई सिङ्गो परिवारको सपना र समाजको भविष्य नै अन्धकार बनाउने उल्लेख गरिन् । युवा पुस्ता देशको भविष्य भएको चर्चा गर्दै उनले यो वर्ग दुव्र्यसनमा फस्नु राष्ट्रिय चिन्ताको विषय भएको बताइन् ।

अध्ययनअनुसार सीमा नाका, विद्यालय र शहरी क्षेत्रमा लागुऔषधको प्रभाव बढी देखिएको भन्दै उनले ती क्षेत्रमा नियमित अनुगमनको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुपर्ने प्रस्ताव गरिन् । पक्राउ र अनुसन्धानले मात्रै यो समस्या पूर्ण रूपमा समाधान हुन नसक्ने उनको तर्क छ ।

उनले भनिन्, ‘लागुऔषध नियन्त्रणको क्षेत्रमा राज्यको ध्यान पर्याप्त मात्रामा पुग्न सकेको छैन । समितिले हालसम्म भएका काम–कारबाहीको प्रभावकारिताको अनुगमन र समीक्षा गर्न जरुरी छ । कारबाहीले मात्रै नियन्त्रण सम्भव छैन। यसका लागि जनचेतनामूलक कार्यक्रम, परामर्श र प्रभावकारी पुनस्र्थापना केन्द्रको आवश्यकता पर्छ । पुनस्र्थापनापछि नागरिक असल भएर समाजमा फर्किने वातावरण निर्माण गरिनुपर्छ ।’

यस कार्यका लागि राज्यले पर्याप्त बजेट विनियोजन गर्नुपर्ने र सम्बन्धित निकायलाई प्रभावकारी ढङ्गले काम गर्न मार्गप्रशस्त गरिदिनुपर्नेमा उनले जोड दिइन् । साथै, यस क्षेत्रमा क्रियाशील संस्थाहरूसँग परामर्श गरी उनीहरूको सुझावका आधारमा अगाडि बढ्न सके लक्ष्य हासिल गर्न सकिने उनको भनाइ छ ।

उनले समितिको भुमिकालाई प्रभावकारी बनाउन र सरकारलाई आवश्यक निर्देशन दिन पनि ध्यानाकर्षण गराइन् । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − six =