राष्ट्रहित प्रवर्द्धनका लागि कूटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प छैन: सचिव राई

काठमाडौँ । परराष्ट्र सचिव अमृतबहादुर राईले परिवर्तित विश्व परिवेश र नेपालको भूराजनीतिक अवस्थालाई मध्यनजर गर्दै व्यवहारिक एवं सन्तुलित परराष्ट्र नीति सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।

बुधवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव राईले राष्ट्रहित प्रवर्द्धनका लागि कूटनीतिक क्षमता अभिवृद्धि गर्नुको विकल्प नरहेको स्पष्ट पारे ।

सचिव राईले हालको परिस्थितिमा राष्ट्रहितका लागि काम गर्ने अभूतपूर्व अवसर सिर्जना भएको उल्लेख गर्दै यस कार्यमा सबैको ऐक्यबद्धता आवश्यक रहेको बताए । उच्चस्तरीय भ्रमण र संवादलाई निरन्तरता दिने क्रममा परराष्ट्र मन्त्रीको हालै सम्पन्न भारत भ्रमणले दुई मुलुकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको सचिव राईले जानकारी दिए ।

उनले परराष्ट्र मन्त्रीबाट छिट्टै नै चीनको भ्रमण हुन लागेको समेत अवगत गराए । चीनसँग नेपालको परम्परागत र मैत्रीपूर्ण सम्बन्ध रहेको चर्चा गर्दै उनले नेपालको विकास प्रयासमा छिमेकी मुलुकहरूको सहयोग र सद्भाव अपरिहार्य रहने बताए ।

उनले भने ‘हालको परिवेशमा राष्ट्रहितमा काम गर्ने एउटा अभूतपूर्व अवसर सिर्जना भएको छ । यस कार्यका लागि हामी एउटै ढुङ्गामा छौँ । यो कुरा म यहाँहरूलाई फेरि दोहोर्याउन चाहन्छु । परिवर्तित विश्व परिवेशमा नेपालको भूराजनीतिक अवस्थाले हाम्रा लागि आफ्नै खालका चुनौतीहरू र अवसरहरू सिर्जना गरेको छ । राष्ट्रहित प्रवर्द्धनका दिशामा व्यवहारिक र सन्तुलित परराष्ट्र नीति सञ्चालन गर्नु तथा त्यसका लागि हाम्रो कूटनीतिक क्षमता थप अभिवृद्धि गर्नुको अर्को विकल्प हामीसँग छैन । यसै सिलसिलामा उच्चस्तरीय भ्रमण र संवाद पनि अपरिहार्य रहन्छन्। यहाँहरूलाई अवगत भएकै विषय हो, हालै माननीय परराष्ट्रमन्त्रीज्युको भारत भ्रमण सम्पन्न भएको छ, जसले दुई मुलुकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने दिशामा महत्त्वपूर्ण योगदान पुर्याएको छ । त्यसैगरी, छिट्टै नै माननीय परराष्ट्रमन्त्रीज्युले चीनको पनि भ्रमण गर्नुहुनेछ । चीनसँग हाम्रो परम्परागत र मैत्रीपूर्ण सम्बन्ध रहिआएको छ । नेपालको विकास प्रयासमा छिमेकीहरूको सहयोग र सद्भाव महत्त्वपूर्ण रहन्छ । आजको डिजिटल विश्वमा जेनेरेटिभ एआईको बढ्दो प्रयोग, सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरू तथा सूचना प्रवाहको तीव्रता र व्यापक पहुँचका कारण जानकारी र सूचनाको प्रवाह तथा पहुँच अत्यधिक बढेको छ । तथापि, मिसइन्फर्मेसन (भ्रामक सूचना) र डिसइन्फर्मेसन (जानाजान फैलाइने गलत सूचना) जस्ता कारणले एकातर्फ नागरिकलाई विश्वसनीय र भरपर्दो सूचना प्राप्त गर्न कठिनाइ उत्पन्न भएको अवस्था पनि छ ।’

सचिव राईले पछिल्लो समय प्रविधिको विकाससँगै कूटनीति र सूचना प्रवाहमा नयाँ चुनौतीहरू थपिएको तर्फ ध्यानाकर्षण गराए । डिजिटल विश्व, जेनेरेटिभ एआई र सामाजिक सञ्जालका कारण सूचनाको पहुँच व्यापक भए पनि मिसइन्फर्मेसन र डिसइन्फर्मेसन (मिथ्या र भ्रामक सूचना) का कारण नागरिकलाई विश्वसनीय सूचना प्राप्त गर्न कठिनाइ भइरहेको उनको भनाइ थियो ।

सूचनाको तीव्र प्रवाह र पहुँच बढेको वर्तमान अवस्थामा आधिकारिक र भरपर्दो जानकारी सम्प्रेषण गर्नु चुनौतीपूर्ण रहेको उनले उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − thirteen =