प्रधानमन्त्री संसदभन्दा माथि होइनन्, उत्तरदायी बनाउनैपर्छः हर्कराज राई

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै सभामुखलाई संसदको नियमावली र संविधानअनुसार आवश्यक रुलिङ गर्न आग्रह गरेका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।

उनले प्रधानमन्त्री बालेन्द्र साहलाई संसदप्रति उत्तरदायी र जबाफदेही बनाउनुपर्नेमा जोड दिए । उनले संसद सञ्चालनका क्रममा संविधान र नियमावलीमा व्यवस्था भएका प्रावधानअनुसार अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री पनि संसदकै सदस्य भएकाले सदनप्रति उत्तरदायी बन्नुपर्ने उनको भनाइ छ । राईले सीमासम्बन्धी विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै रेकर्डबाट हटाउन समेत माग गरे ।

उनले भने ‘प्रधानमन्त्रीज्यूलाई तपाईँले रुलिङ गरेर ल्याउनुपर्छ । तपाईँको रुलिङ उहाँले पनि मान्नुपर्छ । उहाँ पनि यही सभाको सदस्य हो । सदनलाई विधिको माध्यमबाट अनुरोध गरौँ भन्ने हाम्रो अनुरोध हो । हाम्रा नियमावलमिा भएका नियम, उपनियम र संविधानका धाराअनुसार चलौँ भन्ने हो । प्रधानमन्त्री सफल भएमात्रै यो सरकार सफल हुने हो । सरकार सफल हुँदा हामी सबै, यो देश पनि सफल हुने हो । त्यसकारण हामीले प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बनाउनु नै पर्छ । प्रधानमन्त्री संसदभन्दा ठूलो होइन, संविधानको धारा र उपधाराभन्दा ठुलो हामी कोही पनि छैनौँ । भन्ने कुरालाई हेक्का राख्नुपर्छ भन्ने मेरो अनुरोध छ । सीमाको विषयमा प्रधानमन्त्रीले जे बोल्नुभयो गम्भीर आपत्तिजनक राष्ट्रिय गल्ती हो । तर यसतर्फ परराष्ट्र मन्त्रालयले समेत खासै चासो दिएको मैले देख्दिनँ ।’

उनले सीमाको विषयमा प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर जवाफ दिनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + twenty =