बजेटमाथिको छलफलमा सहभागी हुने काँग्रेसको निर्णय

काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्रीको पछिल्लो विवादास्पद अभिव्यक्तिबारे सरकारका तर्फबाट आएको स्पष्टीकरण चित्तबुझ्दो नभएको जनाएको छ ।

यद्यपि, मुलुकको आर्थिक एजेण्डा र बजेटको संवेदनशीलतालाई मध्यनजर गर्दै सदनको अवरोध हटाएर छलफलमा सहभागी हुने निर्णय काँग्रेसले गरेको छ ।

बुधवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काँग्रेसकी प्रमुख सचेतक बासना थापाले प्रधानमन्त्रीको अभिव्यक्तिका सम्बन्धमा परराष्ट्र मन्त्रीले दिएको जवाफ पर्याप्त नभएको बताइन् ।

प्रधानमन्त्रीको अभिव्यक्ति सत्य हो वा भ्रम मात्र हो भन्ने विषयमा जनतालाई स्पष्ट पार्नुपर्ने माग राख्दै काँग्रेसले सदनमा आवाज उठाइरहेको उनको भनाइ थियो । प्रधानमन्त्रीको जवाफप्रति असहमत रहँदा रहँदै पनि बजेटमाथिको छलफल रोक्न नहुने तर्क थापाले अघि सारे ।

प्रमुख सचेतक थापाले भनिन् ‘परराष्ट्र मन्त्रीमार्फत प्रधानमन्त्रीको जुन भर्सन आउनुपर्ने थियो, त्यो अझै पनि सन्तोषजनक छैन । उहाँले प्रधानमन्त्रीको गल्तीलाई ढाकछोप गर्न खोज्नुभएको देखिन्छ । सीमाजस्तो संवेदनशील विषयमा आधिकारिक र चित्तबुझ्दो जवाफ नआएसम्म हामी यो विषयलाई सदनमा निरन्तर उठाइरहने छौँ ।’

अब आफूहरूले सदनमा प्रधानमन्त्रीको भौतिक उपस्थितिलाई भन्दा पनि उहाँको वक्तव्यको ठोस जवाफलाई प्राथमिकता दिने उनको भनाइ थियो । यसैगरी, बजेट निर्माणका क्रममा करका दर हेरफेर गरिएको र निश्चित व्यापारिक घरानालाई फाइदा पुर्याइएको भनिएको बिवाइडी प्रकरणमा पनि काँग्रेसले निगरानी बढाइरहेको उनले जानकारी दिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 12 =