फिलिपिन्स भूकम्प: ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता

एजेन्सी । फिलिपिन्सको दक्षिणी क्षेत्रमा सोमबार गएको ७.८ म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको प्रान्तीय अधिकारीहरूले बताएका छन् ।
राष्ट्रिय प्रकोप अधिकारीहरूका अनुसार कम्तीमा एक दर्जन व्यक्ति अझै हराइरहेका छन् भने १३४ जना घाइते भएका छन् ।
करिब सात लाख २० हजार जनसङ्ख्या रहेको जनरल सान्तोसको दक्षिणमा गएको भूकम्पले कम्तीमा नौ जनाको ज्यान लिएपछि फिलिपिन्सका अधिकारीहरूले प्रभावित तटीय क्षेत्रका मानिसहरूलाई उच्च स्थानमा जान आग्रह गरेका छन् ।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार भूकम्प गएको करिब दुई घण्टापछि ६।५ म्याग्निच्युडको शक्तिशाली पराकम्प गएको थियो ।
जनरल सान्तोसमा एएफपीका एक पत्रकारले सोमबार दिउँसो उद्धारकर्मीहरूले ग्राहकहरूको भीडभाड भइरहने एक लोकप्रिय किराना पसल भत्किँदा भग्नावशेषमा पुरिएका भनिएका दुई कर्मचारीको मृत शरीरलाई निकाल्ने प्रयास गरिरहेका देखेको बताए ।
अति प्रभावित सारङ्गानी प्रान्तका विपद् प्रमुख रेने पुन्जालानले एएफपीलाई बताएअनुसार ग्लान नगरपालिकामा मात्रै पहाडको फेदमा पहिरोले घर पुरिँदा १४ जनाको मृत्यु भएको छ ।
‘भूकम्पलगत्तै पहिरो खसेको थियो, धेरै मानिसको ज्यान गइसकेको छ’ उनले भने ‘केही क्षेत्रमा मानवीय क्षति भए÷नभएको विवरण आउन बाँकी छ ।’
‘सबैभन्दा ठूलो चुनौती भनेको सञ्चार हो । बिजुली काटिएको छ, त्यसैले घटनाबाट थप अपडेटहरू प्राप्त गर्न गाह्रो छ,’ पुन्जालानले भने ।
‘हामी पराकम्पबाट हुनसक्ने थप क्षतिप्रति चिन्तित छौँ’ उनले थपे ‘हामी बासिन्दाहरू त्रासबीच सहयोगको पर्खाईमा रहेको महसुस गर्न सक्छौँ ।’
सामाजिक सञ्जालमा पोस्ट गरिएको र एएफपीले प्रमाणित गरेको भिडियोमा जनरल सान्टोस सिटीमा जोलिबी फास्ट फूड रेष्टुरेन्ट भएको सपिङ सेन्टर भग्नावशेषमा परिणत भएको देखिएको छ भने विद्यालयको एउटा भवन भत्किएर अर्को भवनमाथि परेको देख्न सकिन्छ ।
एएफपीले प्राप्त गरेको अर्को भिडियोमा भूकम्पले उनीहरूलाई यताउता पछाडि पछाडि हल्लाउँदै गर्दा साना स्कुले बालबालिकाहरू शिक्षकको काखमा चिच्याएको देख्न सकिन्छ ।
स्कूलको आधिकारिक फेसबुक पेजमा अपलोड गरिएको भिडियोको अन्त्यमा विद्यालय परिसरको पृष्ठभूमिमा एक कमजोर धातुको संरचना भत्किएको देखिएको थियो तर त्यसमा कोही नपरेको बताइएको छ।
सारङ्गानी प्रकोप प्रमुख पुन्जालानले एएफपीलाई बताए । ‘बिहानको सुनामीको चेतावनीका कारण दुई हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ र उनीहरू आफ्नो घर फर्कन सूचनाको पर्खाइमा छन् ।’
‘अधिकारीहरू अझै उनीहरूलाई घर पठाउन ठीक हुन्छ कि हुँदैन भनी स्थितिको आँकलन गरिरहेका छन्,’ उनले ने ।
प्रशान्त महासागरीय सुनामी चेतावनी केन्द्रले जारी गरेको सूचनामा फिलिपिन्स, इन्डोनेसिया, पलाउ, ताइवान र पपुवा न्युगिनीको तटीय क्षेत्रमा सुनामीको लहर आउने सम्भावना रहेको उल्लेख गरिएको थियो ।








