भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य

काठमाडौं । रूपन्देहीको भैरहवास्थित एशियन होटल लिमिटेड (एशियन बुद्ध होटल) ले फिफा विश्वकप फुटबललाई लक्षित गर्दै विशेष प्रदर्शनी तथा खेलकुद प्रवर्द्धन कार्यक्रम सार्वजनिक गरेको छ ।

होटलले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत फुटबल प्रेमीहरूका लागि सामूहिक रूपमा खेल हेर्ने व्यवस्था मिलाएको जनाएको छ । यसका लागि राष्ट्रिय फुटबल टोलीका चर्चित खेलाडी अञ्जन विष्टसँग सहकार्य गरिएको हो ।

होटलका अध्यक्ष पारस अधिकारीका अनुसार व्यापारिक उद्देश्यभन्दा माथि उठेर खेलकुदमार्फत समाजलाई जोड्ने र स्थानीय स्तरमा फुटबलको माहोल सिर्जना गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको हो ।

भैरहवामा ‘स्पोर्ट्स बार’ को अभाव महसुस गर्दै होटलले यसअघि क्रिकेट केन्द्रित गतिविधिमार्फत खेलकुद बारको अवधारणा सुरु गरेको थियो । सोही पूर्वाधारलाई प्रयोग गर्दै यसपटक विश्वकप फुटबललाई लक्षित गरी समर्थकहरूका लागि सामूहिक जमघट र मनोरञ्जनको वातावरण बनाइने होटलले जनाएको छ ।

मध्यरातमा हुने खेलहरू भए पनि दर्शकहरूको उल्लेख्य उपस्थिति रहने र खेलप्रेमीहरूमा छुट्टै उत्साह सिर्जना हुने विश्वास होटलले लिएको छ । राष्ट्रिय खेलाडी अञ्जन विष्टको उपस्थितिले कार्यक्रमलाई थप आकर्षक र प्रेरणादायी बनाउने अपेक्षा गरिएको छ ।

होटलले भैरहवा र आसपासका सम्पूर्ण खेलप्रेमीहरूलाई सामूहिक रूपमा विश्वकप फुटबलको मजा लिन आग्रहसमेत गरेको छ ।

अध्यक्ष अधिकारीले भने, ‘एउटा पब्लिक लिमिटेड कम्पनीका रूपमा समाजप्रति हाम्रो पनि केही उत्तरदायित्व छ । विगतमा हामीले क्रिकेटका विभिन्न प्रतियोगिताहरू आयोजना गरिसकेका छौँ । यसपटक विश्वकपको अवसरमा राष्ट्रिय गहनाका रूपमा रहनुभएका अञ्जन विष्टसँगको सहकार्यमा फुटबलप्रेमीहरूलाई उत्कृष्ट वातावरण प्रदान गर्न लागेका हौँ ।’

कार्यक्रममा सहभागी नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य अञ्जन विष्टले नेपाली फुटबलको दीर्घकालीन विकासका लागि नियमित लिग र तल्लो तहको (ग्रासरुट) फुटबल संरचना बलियो हुनुपर्नेमा जोड दिए ।

उनले देशभर फुटबलको माहोल उत्साहजनक भए पनि रोकिएको घरेलु लिगलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याए । आगामी दिनमा नेपाली फुटबलको अवस्थामा सुधार आउनेमा आफू आशावादी रहेको उनले बताए ।

विष्टले भने, ‘रुख बलियो हुनका लागि त्यसको जरा मजबुत हुनुपर्छ । हाम्रो फुटबलको तल्लो तह अर्थात् जग बलियो भए मात्र भविष्यमा नेपाली फुटबल अझ सशक्त बन्न सक्छ ।’

उदीयमान खेलाडीहरूलाई उनले अनुशासन, कडा परिश्रम र समर्पणलाई सफलताको आधार बनाउन सुझाव दिए । खेलमा हार–जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै उनले हारबाट विचलित नभई सिकाइका रूपमा लिनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 5 =