फिल्डमा खटिने फोटो पत्रकारको अब कार्यक्षेत्रमै हुनेछ तत्काल उपचार

काठमाडौं । सम्पादक समाज नेपालले विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारहरूका लागि प्राथमिक उपचारसम्बन्धी तालिम सञ्चालन गरेको छ ।

नुवाकोटको शिवपुरी गाउँपालिका–७ सुइरेचौरस्थित गोविन्द बियोगी पत्रकारिता अध्ययन केन्द्रमा शनिबारदेखि सुरु भएको तालिम आइतबार समापन हुने कार्यक्रम छ ।

तालिममा आन्दोलन, दुर्घटना तथा प्राकृतिक विपद्का घटनास्थलमा तस्बिर खिच्ने क्रममा घाइते हुन सक्ने फोटो पत्रकार र उनीहरूका सहकर्मीलाई आवश्यक प्राथमिक उपचार कसरी गर्ने भन्ने विषयमा प्रशिक्षण प्रदान गरिएको छ ।

सम्पादक समाज नेपालका महासचिव श्याम डोटेलले आन्दोलन तथा दंगाका बेला अग्रपंक्तिमा रहेर काम गर्ने सञ्चारकर्मीहरू घाइते हुने अनुभवका आधारमा तालिम आयोजना गरिएको जानकारी दिए ।

उनका अनुसार फिल्डमा सँगै खटिएका फोटो पत्रकार वा सञ्चारकर्मीले सहकर्मीलाई आकस्मिक चोटपटक लागेमा तत्काल प्राथमिक उपचार प्रदान गर्न सकून् र अस्पताल पुग्दासम्म घाइतेको अवस्था थप जटिल हुन नपाओस् भन्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।

‘मुलुकमा हुने विभिन्न आन्दोलन एवं दंगाको समयमा अग्रपंक्तिमा रहेर काम गर्ने सञ्चारकर्मी साथीहरू घाइते भएको हामीले पायौँ । फिल्डमा सँगै रहेको फोटो पत्रकारले आफ्नो सहकर्मीलाई कुनै समस्या परेमा तत्काल प्राथमिक उपचार गर्न सकोस् र अस्पताल पुग्दासम्म अवस्था थप बिग्रन नपाओस् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको हो,’ डोटेलले भने ।

फोटो पत्रकार शम्भु दंगालले फोटो पत्रकारहरू सधैं फ्रन्टलाइनमा खटिनुपर्ने भएकाले यस्तो तालिम अत्यन्त उपयोगी रहेको बताए ।

उनले दंगा, आन्दोलन वा अन्य जोखिमपूर्ण परिस्थितिमा सहकर्मी घाइते भए तत्काल सहयोग गर्न सक्ने सीप विकासमा तालिमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

दंगालले तालिमले फोटो पत्रकारहरूको कार्यक्षमता, आत्मविश्वास र सुरक्षा सचेतना अभिवृद्धि गर्न समेत मद्दत पुग्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =