नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा

पाल्पा । पाल्पाको राम्दीस्थित सिद्धार्थ राजमार्गमा नेपालकै पहिलो पटक बन्न लागेको ‘कन्क्रिट फिल्ड स्टिल ट्युब (सीएफएसटीस्) आर्च’ पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

निर्माणाधिण पुल असारभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए । उनकाअनुसार ९० प्रतिशत पुल निर्माणको काम सकिएको छ । पुलको मुख्य संरचना निर्माण सम्पन्न भइसकेको र डेक कन्क्रिटिङ तथा केही सहायक संरचनाको काम बाँकी रहेको उनले जानकारी दिए ।

आर्थिक वर्षको अन्त्यसम्म पुल सञ्चालनमा ल्याउने प्रयास गरिरहेको उनको भनाई छ । महानिर्देशक डा. जैसीकाअनुसार राम्दी क्षेत्र सिद्धार्थ राजमार्गको रणनीतिक महत्वको बिन्दु हो । उक्त पुल जलविद्युत आयोजनाका भारी उपकरण ढुवानी तथा राष्ट्रिय सडक सञ्जालका लागि समेत महत्वपूर्ण रहेको छ ।

पुरानो पुलमा कम्पन (भाइब्रेसन) सम्बन्धी समस्या देखिएपछि नियमित मर्मत गरिएपनि दीर्घकालीन समाधानका लागि नयाँ पुल निर्माण गरिएको उनले जानकारी दिए । नयाँ पुल डिजाइन एण्ड बिल्ड ठेक्का प्रणालीमार्फत निर्माण भइरहेको उनले जानकारी दिए ।

निर्माण व्यवसायीले प्रश्तुत गरेको कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च डिजाइन स्वीकृत गरी काम अघि बढाइएको उनको भनाई छ । यो प्रविधि विशेषगरी चीनमा व्यापक रूपमा प्रयोग हुँदै आएको उनले जानकारी दिए । उनकाअनुसार पुलले करिब १०० टनसम्मको समग्र भार वहन गर्नसक्ने क्षमता राख्नेछ ।

नेपालमा यस प्रकारको भर्टिकल ह्याङ्गरयुक्त कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च पुल पहिलोपटक निर्माण भइरहेको उनको भनाई छ । यसअघि मुग्लिङ र काठमाडौंको बिजुलीबजारमा विभिन्न प्रकारका आर्च पुल बने पनि सिएफएसटी प्रविधिमा आधारित पुल भने राम्दीमै पहिलो निर्माण हुन लागेको उनले बताए ।

उनले भने, ‘यो राम्दी भन्ने ठाउँ यो सिद्दार्थ राजमार्गको पहिलेदेखि कै असाध्यै महत्वपूर्ण पोइन्ट छ । हाइड्रोपावरका सामानहरु सार्नलाई, हाम्रो रोडको लागि पनि यो महत्वपूर्ण पुल थियो । यो पुरानो पुलमा केही वर्ष यता अलि भाइब्रेसनको समस्या देखियो । भाइब्रेसनको समस्या देखिएपछि हामीले यसलाई मर्मत पनि गरिराखेका छौँ । यसको अलावा नयाँ पुल बनाउनुपर्छ भनेर हामीले नयाँ पुल बनाउन थालेको हो ।’

१२५ मिटर स्पान रहेको पुलमा स्टिल ट्युबभित्र कन्क्रिट भरिने प्रविधि अपनाइएको छ । कन्क्रिट जमिसकेपछि स्टिल र कन्क्रिट एकीकृत भई बलियो संरचना तयार हुने तथा पुलको सम्पूर्ण भार दुवै किनारका एबटमेन्टमा स्थानान्तरण हुने डिजाइन रहेको विभागले जनाएको छ । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =