अस्पताल लैजाने बहानामा कैदीलाई होटल पुर्‍याउने दुई प्रहरी बर्खास्त

काठमाडौं । कारागारमा रहेका एक कैदीलाई उपचारका लागि अस्पताल लैजाने बहानामा होटल पुर्‍याएको घटनामा संलग्न दुई जना प्रहरी कर्मचारी बर्खास्त भएका छन् ।

प्रहरी स्रोतका अनुसार सुन्धारा कारागारमा ठगी अभियोगमा थुनामा रहेका अनुप भण्डारीलाई अस्पताल लैजाने क्रममा होटल पुर्‍याइएको खुलेपछि प्रहरी सहायक हवल्दार होमबहादुर कुँवर र प्रहरी जवान टेकबहादुर विकलाई सेवाबाट बर्खास्त गरिएको हो ।

घटना जेठ १ गतेको हो । कारागार प्रशासनबाट भण्डारीलाई सामाखुशीस्थित बिनायक अस्पताल लैजान अनुमति लिएर बाहिर निकालिएको थियो । तर अस्पताल लैजानुको सट्टा उनलाई सामाखुशीकै दीप सागर गेस्ट हाउसमा लगेर करिब तीन घण्टा बस्न दिइएको अनुसन्धानबाट खुलेको छ ।

भण्डारीको सुरक्षाका लागि नेपाल प्रहरीको अनाश्रित गुल्म जगन्नाथदेवलबाट कुँवर र विक खटिएका थिए ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरी स्रोतका अनुसार कारागार प्रशासनले घटनाबारे छानबिन गरी प्रतिवेदन प्रहरीलाई पठाएपछि आवश्यक विभागीय कारबाहीस्वरूप दुवै प्रहरी कर्मचारीलाई बर्खास्त गरिएको हो ।

स्रोतका अनुसार अस्पताल पठाउनुपर्ने व्यक्तिलाई होटलमा लगिएको पुष्टि भएपछि कारबाही प्रक्रिया अघि बढाइएको थियो ।

प्रचलित कानुनी व्यवस्थाअनुसार कनिष्ठ प्रहरी कर्मचारीलाई प्रहरी उपरीक्षक (एसपी) ले बर्खास्त गर्न सक्ने अधिकार रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + nineteen =