‘प्रधानमन्त्री सदनप्रति उत्तरदायी हुनुहुन्छ, आवश्यक परे पुनः जवाफ दिनुहुनेछ’

काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र साह सरकार र संसदप्रति उत्तरदायी रहेको स्पष्ट पारेका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले हालै मात्र संसदमा उठेका प्रश्नहरूको जवाफ दिइसकेको र आवश्यक परे पुनः सदनमा उपस्थित भएर जवाफ दिन तयार रहेको बताए ।
प्रवक्ता पोखरेलका अनुसार सीमा विवादको विषय नेपाल–भारतबीचको कूटनीतिक संवाद र टेबल टकमार्फत समाधान गर्नुपर्ने विषय हो । ‘हामीले देखेकै छौँ, प्रधानमन्त्रीज्यू सदनप्रति उत्तरदायी हुनुहुन्छ । उहाँले केही दिनअघि सदनमा उपस्थित भएर जवाफ दिनुभएको थियो र आवश्यकता परे फेरि पनि सदनमा उपस्थित भएर जवाफ दिनुहुनेछ,’ उनले भने ।
उनले नेपाल–भारत दुवै पक्षले सीमा विवाद आपसी संवादमार्फत समाधान गर्ने प्रतिबद्धता व्यक्त गरिसकेको उल्लेख गर्दै आवश्यक सबै प्रक्रिया परराष्ट्र मन्त्रालयमार्फत अघि बढिरहेको बताए ।
प्रवक्ता पोखरेलका अनुसार दुवै देशबीच कूटनीतिक माध्यमबाट समस्या समाधान गर्ने समझदारी अनुसार परराष्ट्र मन्त्रालयले आवश्यक काम अगाडि बढाइरहेको छ ।








