हतुवागढी लुङ्गिनका सबै बस्तीमा विद्युत् विस्तार

भोजपुर । जिल्लाको हतुवागढी–२ लुङ्गिन क्षेत्रमा केन्द्रीय विद्युत् सेवा विस्तार गरिएको छ । लामो समयपछि यो क्षेत्र राष्ट्रिय प्रसारण लाइनसँग जोडिएको हो ।
वडा कार्यालयको पहल तथा सम्बन्धित निकायको समन्वयमा पोल, तार, ट्रान्सफर्मर तथा आवश्यक सामग्री व्यवस्थापन गरेर गाउँमा विद्युत् विस्तार गरिएको हो । यससँगै लुङ्गिनका अधिकांश बस्तीमा विद्युत् पहुँच पुगेको वडा कार्यालयले जनाएको छ ।
वडाध्यक्ष विचारी थापाले गाउँका सबै क्षेत्रमा विद्युत् सेवा विस्तार गरिएको जानकारी दिँदै यसले स्थानीयको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । ‘विद्युत् पहुँच विस्तारसँगै यहाँका नागरिकको दैनिकी सहज बनेको छ’, उनले भने, ‘अब शिक्षा, स्वास्थ्य, सञ्चार तथा साना उद्योग व्यवसाय सञ्चालनमा टेवा पुग्नेछ ।
स्थानीय महेश्वरी कार्कीले विद्युत् विस्तारपछि घरायसी कामकाज सहज बनेको बताए । उनका अनुसार बत्ती बाल्न, खाना पकाउन उपकरण प्रयोग तथा बालबालिकाको पढाइमा सहज भएको भएको हो । ‘पहिले दियो तथा टुकी बत्तीको भर पर्नुपथ्र्यो, बिजुली आएपछि हाल धेरै सजिलो भएको छ । घरायसी काम र विशेष गरी बालबालिकाको पठनपाठनमा सहज भएको छ ।’
विद्युत् सेवा विस्तारसँगै स्थानीयस्तरमा साना तथा घरेलु उद्योग सञ्चालनमा पनि सहज भइरहेको स्थानीयवासी हेमराज कार्कीले बताए । कृषिजन्य उत्पादन प्रशोधन, सिलाइ–कटाइ, कुटानीपिसानी मिल सञ्चालनजस्ता क्रियाकलापमा पनि यसले सहयोग पुगेको उनको भनाइ छ ।
गाउँमा विद्युत् पुगेपछि सूचना तथा सञ्चार प्रविधिको पहुँच विस्तार, डिजिटल सेवाको प्रयोगमा वृद्धि भएको स्थानीय शम्भु राईले बताए । स्थानीय तहले आगामी दिनमा विद्युत् सेवाको दिगोपना तथा नियमित आपूर्तिका लागि आवश्यक समन्वयलाई निरन्तरता दिने जनाएको छ ।








