बालेनको अभिव्यक्तिप्रति श्रम संस्कृति पार्टीको आपत्ति

काठमाडौं । भारतसँगको सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिप्रति श्रम संस्कृति पार्टीले आपत्ति जनाएको छ ।

पार्टीले उक्त अभिव्यक्तिले सरकार सीमा रक्षा र राष्ट्रिय भौगोलिक अखण्डताप्रति प्रतिबद्ध नरहेको संकेत गरेको दाबी गरेको छ ।

पार्टी अध्यक्ष हर्क साम्पाङले सोमबार जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीको भनाइप्रति गम्भीर असहमति जनाउँदै सीमा अतिक्रमणको विषयलाई सामान्यीकरण गर्ने प्रयास भएको आरोप लगाएका छन् ।

विज्ञप्तिमा लिपुलेक–लिम्पियाधुरा क्षेत्र फिर्ता हुनुपर्ने पार्टीको मागलाई कमजोर बनाउने र नेपालले आफ्ना भूमि त्याग्नुपर्ने अवस्था सिर्जना गर्ने आशय प्रधानमन्त्रीको अभिव्यक्तिमा देखिएको उल्लेख गरिएको छ ।

“सीमा मिचिएको कुरालाई रफादफा गर्ने, लिपुलेक–लिम्पियाधुरा फिर्ता हुनुपर्छ भन्ने हाम्रो मागलाई सामसुम पार्ने तथा नेपालले धेरै ठाउँका भूमि भारतलाई छोडिदिनुपर्ने राष्ट्रघाती बदनीयत स्पष्ट भएको छ,” विज्ञप्तिमा भनिएको छ ।

श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको अभिव्यक्तिले अन्तर्राष्ट्रिय समुदायमा नेपालको आधिकारिक धारणा र अवस्थाबारे समेत अन्योल सिर्जना गरेको जनाएको छ ।

विज्ञप्तिमा नेपाल सरकारले नेपाली सेनालाई सीमा सुरक्षाभन्दा अन्य कार्यमा सीमित बनाएको आरोप लगाउँदै सीमा क्षेत्रमा पर्याप्त ध्यान नदिएको टिप्पणी गरिएको छ ।

साथै, प्रधानमन्त्रीले नेपालले पनि भारतको भूमि मिचेको दाबी गर्नु सीमा सुरक्षा र राष्ट्रिय अखण्डताप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाउने विषय भएको पार्टीको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 5 =