जीडीपीको अनुपातमा १० वर्षयताकै सानो र सन्तुलित बजेट ल्याइएको होः अर्थमन्त्री डा. वाग्ले

काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा विगत १० वर्षकै सानो र सन्तुलित रहेको दाबी गरेका छन् ।

सोमवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘पोष्ट बजेट’ छलफलमा बोल्दै अर्थमन्त्री वाग्लेले बजेटको आकारलाई लिएर भइरहेका भ्रमहरू चिर्नुपर्नेमा जोड दिए । अर्थमन्त्री वाग्लेले समय र स्रोतको चरम दबाबका बीच बजेट निर्माण गरिएको स्पष्ट पारे ।

आगामी पाँच वर्षको कार्ययोजनासहित जग बसाल्ने गरी यस वर्षको बजेट ल्याइएको र अर्को वर्ष थप परिष्कृत योजनाहरू आउने उनले विश्वास व्यक्त गरे । बजेट महत्वाकांक्षी भएको आलोचनालाई अस्वीकार गरे ।

उनले ६५० अर्ब ऋणको चर्चा भएपनि त्यसको आधाभन्दा बढी हिस्सा पुरानो ऋणको साँवा–ब्याज भुक्तानीमा जाने हुँदा खुद ऋणको भार न्युन रहने विश्लेषण गरे । सरकारले आगामी वर्ष १५८० अर्ब राजश्व संकलन गर्ने लक्ष्य राखेको जानकारी दिँदै उनले आन्तरिक स्रोत परिचालनमा सरकार दृढ रहेको बताए । वैदेशिक ऋणको उपयोग क्षमतामा सुधार ल्याएर ऋण–जीडीपी अनुपातलाई सन्तुलनमा राखिने उनको भनाइ थियो ।

विगत २० वर्षमा निर्मित पूर्वाधारलाई आर्थिक वृद्धिसँग जोड्न सातै प्रदेशमा ‘ग्रोथ क्वाड्र्याङ्गल’ (आर्थिक वृद्धि चतुर्भुज) को अवधारणा अघि सारिएको अर्थमन्त्रीले उल्लेख गरे । उनकाअनुसार मुग्लिन–पोखरा, सिद्धार्थ राजमार्ग र हुलाकी राजमार्ग जस्ता महत्वपूर्ण सडक खण्डलाई विस्तार गरी आर्थिक गतिविधि बढाइनेछ । प्रविधिको क्षेत्रमा बजेटले नवीन फड्को मारेको दाबीसमेत गरे ।

बजारमा देखिएको शिथिलता र न्युन मागलाई सम्बोधन गर्न आयकरमा छुट र कर प्रोत्साहनका सुविधाहरू ल्याइएको उनले बताए । निजी क्षेत्रलाई ‘क्राउड इन’ गर्न र लगानीको वातावरण बनाउन सरकारले साना तर प्रभावकारी कदमहरू चालेको उनको भनाइ छ ।

अर्थमन्त्री वाग्लेले सरकारको प्राथमिकता पुराना अधुरा आयोजनाहरू सम्पन्न गर्ने र नयाँ प्रविधिमैत्री अर्थतन्त्रको जग बसाल्ने रहेको स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =