फिनटेक मार्केटप्लेस राष्ट्र बैंकको नेतृत्वमा सञ्चालन हुनेछः गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सरकारले बजेटमा ‘पेमेन्ट गेटवे’ सञ्चालन गर्ने व्यवस्था नगरेको स्पष्ट पार्दै ‘फिनटेक मार्केटप्लेस’ सञ्चालनको अवधारणा अघि सारेको बताएका छन् ।

बजेटसम्बन्धी जिज्ञासाको जवाफ दिँदै गभर्नर पौडेलले फिनटेक मार्केटप्लेस राष्ट्र बैंकअन्तर्गतको पेमेन्ट डिभिजनको नेतृत्वमा सञ्चालन हुने बताए । उनका अनुसार बजेटमा पेमेन्ट गेटवे सञ्चालन गर्ने कुरा उल्लेख गरिएको छैन । फिनटेक मार्केटप्लेस सञ्चालन गर्ने कुरा राष्ट्र बैंकको नेतृत्वमा अगाडि बढ्ने हो ।

त्यस्तै, सार्वभौम सम्पत्ति कोष (सर्भरेन वेल्थ फण्ड) सम्बन्धमा बोल्दै पौडेलले हाल नेपालको विदेशी मुद्रा सञ्चिति उच्च रहेको तर त्यसबाट प्राप्त प्रतिफल (रिटर्न) अपेक्षाकृत कम रहेको बताए । उनका अनुसार विदेशी मुद्रा सञ्चितिको प्रतिफल ४ प्रतिशतभन्दा कम रहेको अवस्थामा त्यसको केही हिस्सा दीर्घकालीन लगानीमा परिचालन गर्ने सोच अघि सारिएको छ ।

उनका अनुसार सामान्यतः ६–७ महिनाको आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति पर्याप्त मानिन्छ । तर अहिले नेपालसँग १८ महिनाभन्दा बढी आयात धान्न सक्ने सञ्चिति छ । यसलाई छोटो अवधिका तरल उपकरणहरूमा मात्रै राख्दा प्रतिफल कम भइरहेको छ । त्यसैले केही हिस्सा सार्वभौम सम्पत्ति कोषमार्फत लगानी गर्ने अवधारणा ल्याइएको हो ।

गभर्नर पौडेलले एसेट म्यानेजमेन्ट कम्पनी (एएमसी) को संरचनाबारे अन्तिम निर्णय भइनसकेको जानकारी पनि दिए । यद्यपि सरकार तथा सार्वजनिक संस्थानहरूको सहभागितामा कम्पनी सञ्चालन गर्ने प्रारम्भिक सोच रहेको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =