संसदमा संख्या होइन, उठाइने मुद्दा र विचार महत्त्वपूर्ण हुन्छन्: भीष्मराज आङ्देम्बे

काठमाडौँ । नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदमा संख्या भन्दा उठाइने मुद्दा र विचार महत्त्वपूर्ण हुने बताएका छन् ।
शनिवार आयोजित नेपाल थारु संघको अधिवेशनमा उनले संसदमा काँग्रेसको संख्या कम भएपनि आफूहरूले उठाउने मुद्दा महत्त्वपूर्ण हुने बताएका हुन् ।
संख्याको बलमा मात्रै लोकतन्त्र सञ्चालन हुन नसक्ने उनको भनाई छ । संसदीय मर्यादा र लोकतान्त्रिक अभ्यासको संरक्षणका लागि काँग्रेसले आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्ने उनले बताए ।
उनले पार्टी र संसदलाई अलग–अलग ढंगले हेर्ने प्रवृत्तिको अन्त्य गर्दै दुवैलाई एउटै सोच र ट्र्याकमा अघि बढाउने वातावरण निर्माण गरिएको पनि उल्लेख गरे । नेपाली काँग्रेसभित्र संसद् र पार्टीबीच दूरी बढाउने तथा पार्टीलाई कमजोर बनाउने सोच विगतमा हाबी हुन खोजेको उनको भनाई थियो । त्यस्ता प्रवृत्तिलाई निष्तेज पार्दै पार्टी र संसदबीच समन्वय स्थापित गरिएको उनको दाबी छ ।
उनले संसदीय अनुभवमा आफूहरू कमजोर हुनसक्ने भएपनि पार्टी र संसदबीचको सहकार्यमार्फत संसदभित्र देखिएका समस्याको समाधान खोज्ने गरिएको बताए । संसदमा लोकतान्त्रिक मूल्य–मान्यता स्थापित गर्न काँग्रेसले निरन्तर आवाज उठाइरहेको उनले बताए ।
उनले भने ‘संसद् र पार्टीलाई पृथक ढंगबाट हेर्ने सोचबाट निकालेर पार्टी र संसद् एउटै ट्र्याक बाट हिँड्नुपर्छ, एउटै सोचबाट हिँड्नुपर्छ, भन्ने मान्यतालाई स्थापित गरिरहेका छौँ । नेपाली काँग्रेसले झन्डै झन्डै बिर्सिन खोजेको एउटा त्यो पाटो थियो, संसद् र पार्टीलाई छुट्टै बनाएर पार्टीलाई बुम¥याङमा बनाउने वा संसद् एकादेशको कथाजस्तो, पार्टी अर्कैदेशको जस्तो बनाउने सोच र प्रवृत्ति हाबी हुने कोसिस भइरहेको थियो, यी सम्पूर्ण सोच र प्रवृत्तिहरूलाई निष्तेज बनाएर संसद् र पार्टी एउटै ट्रयाकबाट हिँड्ने वातावरण हामीले बनाएका छौँ । अनुभवले हामी कम हौला, शब्द सुन्ने बित्तिकै परिणाममा पुग्ने तर्क प्रस्तुत गर्न नसकौँला तर पार्टी र संसद् बीचको समन्वयबाट हामीले समयलाई व्यवस्थापन गरेर हामीले संसद् भित्र देखिएका समस्यालाई निष्कर्षमा पुर्याउने कोसिस गरिरहेका छौँ । हामी संसदमा निरन्तर आवाजहरू उठाइराख्छौँ, त्यहाँ संसदीय मर्यादालाई कायम गराउने मात्रै होइन, लोकतान्त्रिक मूल्य मान्यतालाई स्थापित गराउनको लागि पनि संख्याको भरमा नाङ्गो नाच नाच्नेहरूलाई लोकतान्त्रिक मूल्य मान्यतामा संख्याको परिणाम मात्रै ठुलो कुरा हुँदैन, त्यहाँभित्र उठाइने मुद्दा ठुलो हो भन्नेकुराको स्थापित हामी गर्नेर्छौँ ।’
यसैबीच, उनले पार्टीभित्र देखिएको समस्याको समाधान गर्नुपर्नेमा पनि जोड दिइन् । उनले पार्टीमा एकता हुनु आवश्यक रहेको उल्लेख गरे । उनले विगतमा सत्ता प्राप्तिको लागी कहिले एमाले र कहिले माओवादी केन्द्रसँग लाग्दा आफ्नो मौलिक पहिचान गुमाएको उल्लेख गरे । उनले सबै एकजुट भएर गुमेको पहिचानलाई फिर्ता ल्याउनुपर्ने बताए । काँग्रेसको मूल चरित्र बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा हिमाल, पहाड, तराई–मधेसका विविध संवेदनालाई समेट्ने रहेको उल्लेख गरे ।
उनले भने ‘सत्ताप्राप्ति गर्नको लागि सुरु गरिएको यात्राले कहिले एमालेको चालमा ढल्किन पुग्यौँ, कहिले माओवादीको चालमा मिसिन पुग्यौँ । यी दुवैको चालमा मिसिदा हामीले हाम्रो चाल बिर्सिन पुग्यौँ । नेपाली काँग्रेसको चाल भनेको बहुजाती, भाषाधर्म, संस्कृतिको, हिमाल, पहाड, तराई, मधेसभित्रको संवेदनको, यी सम्पूर्ण संवेदनाहरूको एकीकृत भावना हो, नेपाली काँग्रेस । नेपाली काँग्रेस हिजो खल्तीको जस्तो भयो, तर आज खल्तीबाट बाहिर निस्केर हेर्दाखेरि सुन्दर संसार छ । यो संसार नेपाली काँग्रेसको भूमि हो । यसभित्रबाट हामीले हाम्रो पहिचानको खोजी गर्नुपर्छ । पहिचान हराएको छैन, खोज्ने सोचहरू हराएको हो, खोज्ने हातहरू हराएको हो । आज हात र सोच हामीले पाएका छौँ ।’
उनले वर्तमान पार्टी नेतृत्वसँग पार्टीलाई पुनः जागृत गर्ने जोस, जाँगर र हुटहुटी रहेको पनि उल्लेख गरे ।








