सुकुम्वासी समस्याको समाधान कानूनसम्मत र मानवीय हुनुपर्छ: गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सुकुम्वासी, भूमिहीन र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्दा राज्यले मानवीय संवेदना र कानुनी प्रक्रियालाई भुल्न नहुने बताएका छन् ।

पार्टी कार्यालयमा शुक्रवार आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले सुकुम्वासी बस्ती हटाउने नाममा गरिने बल प्रयोग र घर–टहरा भत्काउने कार्यलाई ‘अमानवीय’ को संज्ञा दिएका हुन् ।

घर र आवाससँग नागरिकको जीवनका थुप्रै कथा र भावना जोडिएको उल्लेख गरे । नेपालको संविधानले आवासको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको स्मरण गराउँदै उनले भूमिहीन दलितलाई एक पटक जमिन उपलब्ध गराउनु राज्यको दायित्व भएको बताए । सुकुम्वासी र अव्यवस्थित बसोबासको समस्या ऐतिहासिक र संरचनागत भएको उल्लेख गर्दै थापाले यसको हल कानुनको परिधिभित्रै रहेर खोजिनुपर्नेमा जोड दिए ।

पहाडबाट सहरतर्फको तीव्र बसाइँसराई र आर्थिक गतिविधि सहर केन्द्रित हुँदा मानिसहरू खोला किनारमा बस्न बाध्य भएको उनको तर्क छ । सभापति थापाले पछिल्लो समय कतिपय स्थानीय सरकारहरूले सामाजिक सञ्जालमा लोकप्रियता कमाउने उद्देश्यले कानुनी प्रक्रिया मिचेर काम गरिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

सभापति थापाले भने ‘रातभर परिवारसँग बसेको घर बिहान उठ्दा नरहनुको पीडा अत्यन्तै गहिरो हुन्छ। एउटा सामान्य टहरा मात्र भत्काइएको हो भन्ने सोच राख्नु अमानवीयता हो। यस्ता विषयमा राज्य र सम्बद्ध निकाय संवेदनशील बन्नुपर्छ । खोला किनारका बस्ती सार्नुपर्छ, तर ती नागरिकलाई कहाँ र कसरी सार्ने भन्ने स्पष्ट योजना र कानुन आवश्यक छ । लोकतन्त्रमा सरकार कानुनभन्दा माथि हुँदैन । सामाजिक सञ्जालको ‘वाहवाही’ का लागि कानुन मिच्ने प्रतिस्पर्धा देखिनु दुःखद छ । नेपाली काँग्रेसका तर्फबाट निर्वाचित मेयरहरूले कानुनको परिधि नाघेर ‘हिरो’ बन्न खोज्नुभयो भने त्यो पार्टीको विचार विपरीत हुनेछ । पार्टीको सदस्य हुन केवल सदस्यता लिएर मात्र पुग्दैन, पार्टीको विचार र कानुनी शासनलाई पनि आत्मसात् गर्नुपर्छ ।’

आफ्नै पार्टीका तर्फबाट निर्वाचित स्थानीय तहका प्रमुखहरूलाई सचेत गराउँदै सभापति थापाले कानुनको उल्लङ्घन गरेर गरिने कुनैपनि कार्य स्वीकार्य नहुने चेतावनी दिए । भूमिहीन र सुकुम्वासीको व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारको भएपनि उक्त कार्य गर्दा कानुनले तोकेको विधि र प्रक्रिया पूर्ण रूपमा पालना गर्नुपर्नेमा उनको जोड छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + sixteen =