त्याग, आस्था र मानवताको सन्देश बोकेको बकर इद मनाइँदै (तस्बिरहरू)
इस्लाम धर्मावलम्बीको महान् पर्व इद हुल अजहा (बकर इद) देशभर श्रद्धा, आस्था र उल्लासका साथ मनाइँदै छ।

काठमाडौँ। इस्लाम धर्मावलम्बीको महान् पर्व इद हुल अजहा (बकर इद) देशभर श्रद्धा, आस्था र उल्लासका साथ मनाइँदै छ। ‘त्यागको पर्व’ का रूपमा परिचित बकर इद इस्लाम धर्मावलम्बीहरूको दुई प्रमुख पर्वमध्ये एक हो, जसलाई विश्वभरका मुस्लिम समुदायले विशेष महत्वका साथ मनाउने गर्छन्।
इस्लाम धर्मअनुसार पैगम्बर इब्राहिम (अब्राहम) ले अल्लाहको आदेशप्रति पूर्ण समर्पण जनाउँदै आफ्ना छोरा इस्माइललाई बलि दिन तयार भएको घटनाको सम्झनामा यो पर्व मनाइन्छ। धार्मिक विश्वास अनुसार अल्लाहले उनको आस्था र आज्ञापालनको परीक्षा लिँदै अन्तिम समयमा बलिको सट्टा एउटा भेडा प्रदान गरेका थिए। यही घटनाले त्याग, विश्वास, समर्पण र मानवताको सन्देश दिने भएकाले बकर इदलाई विशेष धार्मिक महत्वका साथ मनाउने गरिन्छ।
पर्वको अवसरमा इस्लाम धर्मावलम्बीका मानिसहरू बिहानै मस्जिदमा भेला भई विशेष नमाज अदा गर्ने, एक अर्कामा शुभकामना आदानप्रदान गर्ने तथा दान–पुण्य गर्ने तयारीमा जुटेका छन्। साथै परिवार, आफन्त र समुदायबिच भेटघाट, मिठा परिकार र खुसी साटासाट गर्ने चलन पनि रहेको छ।
काठमाडौँसहित देशका विभिन्न स्थानका मस्जिद तथा मुस्लिम बस्तीहरूमा अहिले पर्वको रौनक बढेको छ। बजारमा किनमेल गर्ने, नयाँ लुगा तथा पर्वका सामग्री खरिद गर्नेहरूको चहलपहल पनि देख्न सकिन्छ।
तस्बिरहरू:-









