बजारीकरण र भुक्तानीको अभावमा इलामका चिया तथा दुग्ध किसान मर्कामा

काठमाडौं । नेपाली काँग्रेसका सचेतक निश्कल राईले इलाममा सञ्चालित चिया तथा दुग्धजन्य उद्योगहरूले उचित बजारीकरणको अभाव झेल्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सचेतक राईले उद्योगहरूको सङ्ख्या उल्लेख्य भए पनि किसान र उद्यमीहरूले उत्पादनअनुसारको प्रतिफल पाउन नसकेको बताए ।

उनले इलाममा १५ भन्दा बढी चिया कारखाना, १५० भन्दा बढी छुर्पी उद्योग तथा सयौँको सङ्ख्यामा दुग्ध मिठाई (ललिपप) उद्योग सञ्चालनमा रहेको जानकारी दिए । तर उत्पादित वस्तुको उचित व्यवस्थापन र बजार प्रवर्द्धन हुन नसक्दा किसान मारमा परेको उनको भनाइ थियो ।

विशेषगरी दुग्ध क्षेत्रमा समस्या गम्भीर बनेको उल्लेख गर्दै राईले सरकारी निकाय दुग्ध विकास संस्थान (डीडीसी) ले नै किसानको भुक्तानी रोकेको आरोप लगाए ।

‘डीडीसीकै तथ्याङ्कअनुसार किसानले साढे तीन महिनादेखिको भुक्तानी पाएका छैनन् । अहिले किसानले झन्डै ५० करोड रुपैयाँ पाउन बाँकी छ,’ उनले भने ।

उनका अनुसार लामो समयसम्म उत्पादनको मूल्य नपाउँदा किसानहरूको दैनिक जनजीवन र व्यवसायिक चक्र प्रभावित भएको छ ।

भुक्तानी अभावका कारण व्यावसायिक पशुपालन गरिरहेका किसानलाई बैंकको किस्ता तिर्न र पशु आहार खरिद गर्न समेत कठिनाइ भइरहेको उनले बताए ।

सचेतक राईले उचित बजारीकरणको सुनिश्चितता गर्न तथा रोकिएको रकम तत्काल उपलब्ध गराएर किसानको समस्या समाधान गर्न सरकारसँग माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =