लिम्बू भाषा नै सरकारी कामकाजी

इलाम । इलामको माङसेबुङ गाउँपालिकाले ‘लिम्बू भाषा’ लाई मङ्गलबारदेखि सरकारी कामकाजी भाषाका रूपमा लागू गरेको छ ।
वि.स. २०८३ वैशाख ११ गतेको ६६औँ कार्यपालिका बैठकले ‘लिम्बू भाषा’ लाई सरकारी कामकाजी भाषामा कार्यान्वयनमा ल्याइएको हो ।
माङसेबुङ गाउँपालिकाले नेपालको संविधानको धारा, ३, ६, ७ (२) तथा धारा ३२ (१) ले सुनिश्चित गरेको भाषा तथा संस्कृतिसम्बन्धी मौलिक हकको कार्यान्वयन गर्ने उद्देश्यले संविधानको अनुसूची–८ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (फ) (१) बमोजिम स्थानीय तहलाई प्राप्त अधिकार प्रयोग गर्दै ‘लिम्बू भाषा’ लाई कामकाजी भाषाका रूपमा कार्यान्वयन गरिएको हो ।
कोशी प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्यतामा माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले ‘लिम्बू भाषा’ कामकाजको भाषाका रूपमा लागू भएको घोषणापत्र वाचन गरी औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको हो ।
माङसेबुङ गाउँपालिकामा बहुसङ्ख्यक नागरिकले बोल्ने ‘लिम्बू भाषा’ (किरात सिरिजङ्गा लिपिमा लेखिने) भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वयनमा ल्याइएको अध्यक्ष राईले बताए ।
‘लिम्बू भाषा’ सरकारी कामकाजको भाषा घोषणासँगै माङसेबुङ गाउँपालिका र साम्जिक मुन्धुम आधारभूत विद्यालयबीच विद्यालय मर्मत सम्भारको योजना नेपालीसँगै ‘लिम्बू भाषा’ र ‘किरात सिरिजङ्गा लिपि’ मा लेखिएको सम्झौतापत्रमा द्विपक्षीय हस्ताक्षर गरिएको थियो ।
सम्झौतापत्रमा गाउँपालिकाका तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत बुद्धिप्रसाद खतिवडा र विद्यालयका तर्फबाट प्रधानाध्यापकको कल्पना लिम्बूले हस्ताक्षर गरे । ‘यहाँको बहुसङ्ख्यक जिम्बू जातिले बोल्ने ‘लिम्बू भाषा’लाई हामीले आजदेखि माङसेबुङमा सरकारी कामकाजको भाषाका रूपमा प्रयोगमा ल्याएका छौँ,’ अध्यक्ष राईले भने, ।
गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङले ७५३ मध्ये ‘लिम्बू भाषा’ सरकारी कामकाजी भाषा प्रयोगमा ल्याउने पहिलो पालिका भएको दाबी गरे । ‘लिम्बू भाषा’ सरकारी कामकाजको भाषा लागू भएपछि सरोकारवालाहरूसमेत उत्साहित भएका छन् ।
किरात याक्थुङ चुम्लुङका केन्द्रीय सल्लाहकार मोहनसिंह थेवेले ‘लिम्बू भाषा’ कामकाजको भाषा घोषणा हुनु समग्र मातृभाषीहरुको लागि खुसीको खबर रहेको प्रतिक्रिया दिए ।
राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार १६ हजार ८१० जनसङ्ख्या रहेको माङसेबुङमा ४२.८३ प्रतिशत लिम्बू र ३३.६ प्रतिशत राई जातिको बसोबास छ ।
जातीय र भाषिक बाहुल्यताका आधारमा माङसेबुङले वि.सं २०७५ साल मङ्सिर १३ देखि ५ नं वडा कार्यालयमा ‘लिम्बू भाषा’ लाई कामकाजी भाषाका रूपमा घोषणा गरी लागू गरिसकेको थियो ।








