प्रधानमन्त्री संसद्मा उपस्थित भएर जवाफ दिने तयारीमा हुनुहुन्छ: सभामुख अर्याल

काठमाडौँ । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र साह संसद्मा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने तयारीमा रहेको जानकारी दिएका छन् ।

मंगलवारको प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ माग गर्दै सदन अवरुद्ध गरेपछि सभामुख अर्यालले यस्तो स्पष्ट पार पारेका हुन् ।

बैठकलाई सम्बोधन गर्दै सभामुख अर्यालले विपक्षी दलले उठाएका मागहरू जायज, संवैधानिक र नियमावली सम्मत रहेको उल्लेख गरे । उनले संसद्को अवरोध हटाउन आफूले विपक्षी दलका नेता, प्रमुख सचेतक तथा सत्ता पक्षका मुख्य सचेतकसँग निरन्तर संवाद गरिरहेको बताए । आगामी केही दिनमा नै नयाँ बजेट सार्वजनिक हुने समय आएकाले कार्यसूचीमा रहेका कार्यक्रमहरूलाई अगाडि बढाउन आवश्यक रहेको उनले स्पष्ट पारे ।

संसद्को कार्यतालिकालाई प्रभावित हुन नदिन र सार्वभौम सांसदहरूको जिज्ञासा सम्बोधन गर्ने वातावरण निर्माणका लागि सहयोग गर्न उनले माननीय सदस्यहरूलाई विशेष आग्रह समेत गरे ।

उनले भने ‘प्रधानमन्त्रीज्यू सदनमा भइरहेका गतिविधि र माननीय सदस्यहरूले उठाउनुभएको विषयमा पूर्ण रूपमा जानकार हुनुहुन्छ । सत्ता पक्षका मुख्य सचेतकबाट प्राप्त जानकारी अनुसार प्रधानमन्त्रीज्यू सांसदहरूका जिज्ञासा र प्रश्नहरूको उत्तर दिन तयारी अवस्थामा हुनुहुन्छ र उहाँ छिट्टै सदनमा उपस्थित हुनुहुनेछ ।’

विपक्षी दलहरूले विभिन्न समसामयिक विषयमा प्रधानमन्त्रीको आधिकारिक धारणा माग गर्दै सदनमा अवरोध सिर्जना गरेपछि सभामुखले सदन सुचारु गर्न यस्तो अपिल गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 18 =