बाँदर आतङ्क नियन्त्रणका लागि जनतालाई हतियारको व्यवस्था गर्न सांसद राईको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले मुलुकभर बढ्दै गएको बाँदरको समस्याका कारण कृषकहरू गम्भीर मारमा परेको भन्दै संसद र सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद राईले बाँदर आतंकका कारण जनता आफ्नो थातथलो छोड्न बाध्य भएको उल्लेख गरे ।

सांसद राईले बाँदरको समस्यालाई लिएर संसद्मा हुने गरेका ठट्टा र उपहासप्रति आपत्ति प्रकट गर्दै यसलाई जनताको पीडा र आक्रोशको रूपमा बुझ्न आग्रह गरे । कृषकले दुःख गरेर हुर्काएका बालीनाली बाँदरले सखाप पार्दा ग्रामीण भेगका जनताको जीविकोपार्जनमा नै संकट आएको उनको तर्क थियो ।

उनले जनतालाई रुवाएर र आफ्नै भूमिमा बस्न नसक्ने अवस्था सिर्जना गरेर कुनैपनि प्रकारको ’आतङ्क’ लाई पाल्न नसकिने स्पष्ट पारे । उनले वैदेशिक रोजगारीमा रहेका युवाहरूले पठाएको विप्रेषण र उनीहरूका आमाबुबाले गाउँमा बाँदरसँग जुधेर गरेको संघर्षको समेत स्मरण गराए ।

उनले भने ‘बाँदर आज जनताको महत्त्वपूर्ण शत्रु भएको छ । कतिपयले यसलाई बचाउनुपर्छ भन्लान्, तर जनताको पीडा भने अकल्पनीय छ । यो विषयलाई हल्का रूपमा लिएर हाँसोमजाक गर्नु हुँदैन । जनताको आक्रोशलाई दबाउन खोजियो भने यसले उग्र रूप लिन सक्छ । बाँदर व्यवस्थापनका लागि के गर्ने हो ? मार्ने, व्यवस्थापन गर्ने वा अरू कुनै निकास निकाल्ने रु यसबारे सरकारले गम्भीर भएर सोचोस् र सदनमा अविलम्ब छलफल होस् ।’

समस्या समाधानका लागि ठोस पहल हुनुपर्नेमा जोड दिँदै सांसद राईले विगतका अभ्यासहरूको उदाहरण समेत दिए । उनले कृषकलाई आफ्नो बालीनाली सुरक्षाका लागि कानूनी प्रक्रिया पुर्याएर हतियार उपलब्ध गराउने विषयमा समेत सदनमा छलफल हुनुपर्ने धारणा राखे । उनले यो विषय कुनै दल वा विचारको मात्र नभई ‘भुईँ मान्छे’ हरूको साझा समस्या भएको उल्लेख गर्दै सरकारलाई यस विषयमा संवेदनशील हुन र तत्काल निकासको बाटो खोज्न माग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + thirteen =