सुर्तीजन्य पदार्थमा करको दरमा व्यापक वृद्धि गरियोस्: एमाले सांसद बराल

काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले सुर्तीजन्य पदार्थमा करको दर वृद्धि गर्न सरकारसँग माग गरेका छन् ।

नेपालमा सुर्तीजन्य पदार्थबाट आक्रान्त भएका मानिसहरूको संख्या बढ्दै गएको उल्लेख गर्दै उनले त्यसलाई नियन्त्रण गर्नका लागि उक्त पदार्थमा सरकारले करको दर बढाउनुपर्ने बताएका हुन् ।

मंगलवार प्रतिनिधि सभा बैठकमा शून्य समय लिएर बोल्दै सांसद बरालले भारत र बङ्गलादेशमा पनि त्यस्ता वस्तुको करको दरमा व्यापक वृद्धि गरिएको उल्लेख गर्दै नेपालले पनि त्यसमा बढाउन आवश्यक रहेको तर्क समेत गरे ।

उनले भने ‘सुर्तीजन्य पदार्थबाट आक्रान्त भएका जनता नेपालमा ८५ लाखभन्दा बढी छन् । १४ देखि २४ वर्ष उमेर समूहका स्कुल र कलेजमा पढिरहेका युवा विद्यार्थीहरू मात्रै करिब ८ लाख यो लतमा फसेका छन् सभामुख महोदय करिब ३९ हजार नागरिकहरू सुर्तीजन्य पदार्थबाट वार्षिक मृत्युवरण गरिरहेका छन् । यसलाई न्युनिकरण गर्ने अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा सुर्तीजन्य पदार्थको करको दर वृद्धि गरी नियन्त्रण गराउनुपर्ने देखिन्छ । डब्लुएचओले कर वृद्धि गरेर भएपनि सुर्तीजन्य बस्तुको सेवन नियन्त्रण गर्न अनुरोध गरेको छ । भारतमा ५८, बङ्गलादेशमा ७३ प्रतिशत यो कर लाग्ने गरेको छ । नेपालमा भने मात्रै ४० प्रतिशत छ । त्यस अर्थमा यसलाई नियन्त्रण गर्न सुर्तीजन्य पदार्थमा करको दर वृद्धि गरियोस् ।’

सांसद बरालले सरकारले सुर्तीजन्य पदार्थको सेवनलाई नियन्त्रण गर्न करको दर बढाउने कुरा नै सबैभन्दा प्रभावकारी कदम हुने समेत स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + thirteen =