सभामुख अर्यालसँग राजदूत पार्कको शिष्टाचार भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताइ योङसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित सभामुखको कार्यालयमा आज भएको भेटमा नेपाल–कोरिया सम्बन्ध, लगानी, प्रविधि, श्रम तथा संसदीय साझेदारीका विषयमा विस्तृत छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।

भेटका क्रममा सभामुख अर्यालले कोरियाले नेपालको विकास, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारी क्षेत्रमा पुर्‍याउँदै आएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा सहकार्यलाई अझ सुदृढ बनाउन आग्रह गरे । उनले हालै नयाँ जनादेशसहित सरकार गठन भएको उल्लेख गर्दै नेपालमा विदेशी लगानी तथा विकास साझेदारीका लागि वातावरण थप सहज बन्दै गएको बताए ।

नेपाल–कोरिया संसदीय मैत्री समूह गठन अन्तिम चरणमा पुगेको जानकारी दिँदै सभामुख अर्यालले दुई देशका सांसदबीच अनुभव आदानप्रदानलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखे । उनले नेपाल प्रविधिको अधिकतम प्रयोगतर्फ अघि बढिरहेको उल्लेख गर्दै कोरियाली लगानीकर्तालाई सूचना प्रविधि तथा प्राविधिक क्षेत्रमा लगानी गर्न आग्रह गरे ।

सभामुख अर्यालले कोरियाली पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गर्न तथा नेपाल वायुसेवा निगमको सिधा सिओल उडानका लागि सहजीकरण गर्न पनि कोरियाली सरकारसँग अनुरोध गरे । उनका अनुसार नेपाल–कोरिया सम्बन्ध सरकारस्तरमै सीमित नभई जनस्तरमा समेत विस्तार हुँदै गएको छ ।

त्यसैगरी, राजदूत पार्क ताइ योङले नेपाललाई कोरियाले विकास साझेदारका रूपमा प्राथमिकतामा राखेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, कृषि, आर्थिक विकास र रोजगारी क्षेत्रमा सहकार्य निरन्तर रहेको जानकारी दिए ।

उनका अनुसार रोजगार अनुमति प्रणाली अन्तर्गत हालसम्म करिब एक लाख २० हजार नेपालीले कोरियामा रोजगारीको अवसर पाइसकेका छन् भने करिब ५० हजार नेपाली अहिले त्यहाँ कार्यरत छन् ।

राजदूत पार्कले नेपाली श्रमिकले कोरियाको उत्पादनमूलक तथा कृषि क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै उनीहरूको स्वास्थ्य, सुरक्षा र सम्मानप्रति कोरिया सरकार संवेदनशील रहेको बताए । साथै विदेशबाट फर्किएका नेपालीलाई पुनःस्थापना र उद्यमशीलतामा सहयोग गर्ने प्रयास भइरहेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − seven =