नेपाल र रोमानियाबीचको व्यापारिक तथा आर्थिक सहकार्य विस्तारमा उपनेता पराजुलीको जोड

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले नेपाल र रोमानियाबीचको द्विपक्षीय सम्बन्धलाई आर्थिक समृद्धि र व्यापारिक साझेदारीका माध्यमबाट थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् ।
काठमाडौँमा सोमवार आयोजित ‘नेपाल–रोमानिया बिजनेस फोरम’को उद्घाटन सत्रलाई सम्बोधन गर्दै उपनेता पराजुलीले भौगोलिक रूपमा टाढा भएपनि आर्थिक वृद्धि र दिगो विकासका साझा आकाङ्क्षाले दुई देशलाई नजिक ल्याएको बताए ।
उनले यो फोरम व्यापार, लगानी, पर्यटन र जनस्तरको सम्बन्ध विस्तारका लागि एक महत्त्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरे । नेपाल र रोमानियाबीचको वर्तमान व्यापारिक परिमाण न्यून रहे पनि यसको विस्तारका लागि ठुलो सम्भावना रहेको उनको भनाइ छ । उनले नेपालको जलविद्युत, पूर्वाधार, पर्यटन, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा लगानी गर्न रोमानियाली लगानीकर्ताहरूलाई आह्वान गरे ।
दुई देशबीचको संयुक्त उपक्रमबाट रोजगारी सिर्जना, उत्पादकत्व वृद्धि र नवीन प्रविधिको प्रवर्द्धनमा सहयोग पुग्ने उनले उल्लेख गरे । उनले अब जनशक्तिसँगै सीप र दक्षता आदानप्रदानमा समेत केन्द्रित हुनुपर्नेमा जोड दिए ।
उनले भने ‘नेपालले उच्च गुणस्तरका तयारी पोसाक, हस्तकलाका सामग्री, जडीबुटी, कृषिजन्य उत्पादन र सूचना प्रविधि (आईटी) सेवाहरू रोमानिया निर्यात गर्न सक्छ । रोमानिया युरोपेली युनियनको प्रवेशद्वार भएकाले नेपाली उत्पादनका लागि त्यहाँको बजार पहुँच, प्रविधि हस्तान्तरण र औद्योगिक सहकार्य अत्यन्त मूल्यवान् हुन सक्छ । नेपाली श्रमिकहरू आफ्नो परिश्रम र इमानदारीका लागि परिचित छन् । सुरक्षित र व्यवस्थित श्रम आप्रवासनले रोमानियाको श्रम मागलाई पूर्ति गर्ने मात्र नभई नेपालको रेमिट्यान्स, सीप विकास र आर्थिक लचिलोपनमा समेत योगदान पुर्याउँछ ।’
उपनेता पराजुलीले रोमानियामा नेपाली श्रमिकहरूको बढ्दो सङ्ख्यालाई सकारात्मक रूपमा लिनुपर्ने बताए । पर्यटन र सांस्कृतिक आदानप्रदानलाई दुई देशबीचको बलियो पुलका रूपमा व्याख्या गर्दै उनले हिमालयको देश नेपाल र समृद्ध सांस्कृतिक सम्पदा बोकेको रोमानियाबीच पर्यटकीय गतिविधि बढाउनुपर्ने बताए ।








