ठूला अस्पतालहरूमा केन्द्रित बेरुजु फर्स्यौट गर्छौंः सचिव देवकोटा

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव विकास देवकोटाले बेरुजु व्यवस्थापनलाई प्राथमिकतामा राख्दै अब ठूला अस्पताल केन्द्रित गराउन लागिएको बताएका छन् ।

सार्वजनिक लेखा समिति बैठकमा बोल्दै उनले ठूला अस्पतालहरूमा केन्द्रित बेरुजुमा विशेष विश्लेषण गरेर फर्स्यौट प्रक्रिया अघि बढाउने योजना रहेको बताए । उनकाअनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र वीर अस्पतालमा मात्र करिब ५ अर्ब रुपैयाँभन्दा बढी बेरुजु देखिएको छ, जुन कुल बेरुजुको करिब एक चौथाई बराबर हो ।

सचिव देवकोटाले यस्ता ठूला अस्पतालहरूमा रहेको बेरुजुको प्रकृति विश्लेषण गरेर लक्षित रूपमा फर्स्यौट गर्ने कार्ययोजना बनाइएको जानकारी दिए ।

उनकाअनुसार आगामी आर्थिक वर्षमा बेरुजु फर्स्यौटका लागि विशेष कार्यक्रमहरू समेत समावेश गरिएको छ, जसले सम्बन्धित निकायलाई जिम्मेवार बनाउँदै फर्स्यौट प्रक्रियालाई तीव्रता दिनेछ । सचिव देवकोटाले वार्षिक खरिद प्रक्रियासँग सम्बन्धित बेरुजु धेरै देखिएको उल्लेख गर्दै केन्द्रबाट दररेट निर्धारण गर्ने प्रणाली लागू गर्न सके बेरुजु घटाउन सहयोग पुग्ने बताए ।

सचिव देवकोटाले भने– ‘हामीले अब अस्पतालमा केन्द्रित हुनुपर्यो । खासगरी यदि आँकडा हेर्यौँ भने अहिलेसम्मको हिसाब गर्दाखेरि ठुला अस्पतालहरू, खासगरी धरान र वीर अस्पतालको मात्र हेयौँ भने कुल लगभग ५ अर्बभन्दा बढी बेरुजु देखिन्छ । त्यो भनेको करिब–करिब एक चौथाइको हाराहारीमा हो । त्यो हिसाबले यस्ता ठूला अस्पतालहरूमा बेरुजु फछ्र्यौट कसरी हुने, कस्ता किसिमका बेरुजु छन् भनेर एनालाइसिस गरेर फोकस टारगेटेड काम गर्ने प्लान छ ।’

उनले हाल खरिद प्रक्रियासँग सम्बन्धित बेरुजु ठुलो मात्रामा रहेको भन्दै केन्द्र, प्रदेश र स्थानीय तहमा एकीकृत दररेट प्रणाली लागू गर्नसके धेरै समस्या समाधान हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =