धनगढीमा कांग्रेस संस्थापनइतर पक्षको जमघट

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले पार्टीको बृहत्तर एकता र पुनर्जागरणको नारासहित सुदूरपश्चिम प्रदेशस्तरीय भेला आयोजना गरेको छ ।

कैलालीको धनगढीमा आयोजित भेलाको नेतृत्व निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले गरेको हो । भेला व्यवस्थापन तथा समन्वयको जिम्मेवारी निवर्तमान केन्द्रीय सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री एनपी साउदलाई दिइएको थियो ।

भेलामा सहभागी हुन सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले मातहतका कार्यसमितिहरूलाई पत्राचारसमेत गरेका थिए । कार्यक्रममा नेता एनपी साउद, रमेश लेखक, मोहन बस्नेत, ईश्वरी न्यौपाने तथा प्रदेश सभापति बलायरलगायत नेताहरूको उपस्थिति रहेको छ ।

संस्थापनइतर पक्षले यसअघि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा पनि यस्तै भेला गरिसकेको छ ।

भेलालाई सम्बोधन गर्दै प्रदेश सभापति बलायरले पार्टीका निर्वाचन समिति, अनुशासन समिति लगायतका संरचनामा संस्थापनइतर पक्षको पनि उचित प्रतिनिधित्व हुनुपर्ने बताएका छन् ।

उनले देउवा नेतृत्वको कार्यसमितिमा काम गरेका धेरै नेता अहिले पार्टी संरचनाबाहिर रहेको उल्लेख गर्दै संघर्षबाट आएका नेताहरूलाई पाखा लगाउन नहुने धारणा राखे ।

“यो पार्टीमा हाम्रो लगानी, रगत र पसिना छ। यदि कसैभन्दा हामीले कम योगदान गरेका छौं भने प्रतिस्पर्धा गर्न तयार छौं,” बलायरले भने, “हामी अनुदानको राजनीतिबाट आएका होइनौं ।”

नेताहरूले आफूहरूको अभियानलाई गुटगत गतिविधिका रूपमा नभई पार्टी एकता, पुनर्जागरण र संगठन सुदृढीकरणको प्रयासका रूपमा बुझ्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 6 =