शान्तिवादी संविधान संशोधन गर्ने सरकारको कदमविरुद्ध टोकियोमा हजारौँको प्रदर्शन

एजेन्सी । जापान सरकारले देशको शान्तिवादी संविधान संशोधन गर्न र सैन्य क्षमता विस्तार गर्न चालेको कदमको विरोधमा मंगलबार साँझ टोकियोमा हजारौँ मानिसले प्रदर्शन गरेका छन् ।

जापानको संसद् भवन (नेसनल डाइट बिल्डिङ) अगाडि भेला भएका प्रदर्शनकारीहरूले प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सरकारले अवलम्बन गरेका पछिल्ला सुरक्षा र रक्षा नीतिहरूको कडा विरोध गरेका हुन् ।

आयोजककाअनुसार उक्त प्रदर्शनमा करिब १० हजार मानिसको सहभागिता रहेको थियो। प्रदर्शनकारीहरूले सरकारले संविधानको मूल मर्मलाई कमजोर बनाउन खोजेको आरोप लगाउँदै सैन्य विस्तारका योजनाहरू तत्काल रोक्न माग गरेका छन् ।

प्रदर्शनमा सहभागी युकी होशिनोले जापानी जनताले संविधान संशोधन नचाहेको बताउँदै सरकारलाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरिन् । त्यस्तै, अर्का प्रदर्शनकारी र्योसुके तान्जीले जापानको विगतको युद्धकालीन इतिहास स्मरण गर्दै फेरि कहिल्यै युद्धको बाटोमा लाग्न नहुनेमा जोड दिए ।

र्यालीमा सहभागी केइयो विश्वविद्यालयका प्राध्यापक इमेरिटस हिरोशी ओनिशीले सरकारको सैन्य सुदृढीकरण अभियान जापानी संविधानको शान्तिवादी सिद्धान्तविपरीत भएको टिप्पणी गरे । उनले सिन्ह्वासँग कुरा गर्दै सरकारका यस्ता गतिविधिहरू रोकिनुपर्ने बताए ।

जापानी सञ्चारमाध्यमका अनुसार सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले देशका तीनवटा प्रमुख राष्ट्रिय सुरक्षा दस्तावेजहरू परिमार्जन गर्ने प्रस्ताव तयार पारेको छ । उक्त प्रश्तावमा जापानको हवाई प्रतिरक्षा प्रणाली सुदृढ गर्ने, लामो दूरीका मिसाइल बोक्न सक्ने आधुनिक पनडुब्बीहरू तैनाथ गर्ने र ‘प्रतिकारात्मक क्षमता’ (काउन्टरस्ट्राइक क्यापेबिलिटीज) बढाउने जस्ता विषयहरू समावेश गरिएको छ ।

सन् १९४७ देखि लागू भएको जापानको वर्तमान संविधानको धारा ९ ले राष्ट्रिय अधिकारका रूपमा युद्धलाई त्याग्ने र अन्तर्राष्ट्रिय विवाद सुल्झाउन बल प्रयोग नगर्ने प्रतिवद्धता व्यक्त गरेको छ । यसै प्रावधानका कारण यसलाई ’शान्तिवादी संविधान’ भनिन्छ ।

प्रधानमन्त्री ताकाइची र जापानका अन्य दक्षिणपन्थी शक्तिहरूले लामो समयदेखि धारा ९ संशोधनको वकालत गर्दै आएका छन् । प्रधानमन्त्रीले यसै वर्ष संविधान संशोधनको पक्षमा पटक–पटक अभिव्यक्ति दिएपछि जापानी नागरिक र विभिन्न सामाजिक क्षेत्रमा यसको तीव्र विरोध भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + one =