गालीगलौज गर्ने जत्था नपाल्न रास्वपा नेताहरूसँग रामेश्वर खनालको आग्रह

काठमाडौं । पूर्वअर्थमन्त्री रामेश्वर खनालले व्यक्तिगत विचार व्यक्त गर्नेहरूमाथि गालीगलौज गर्ने समूहलाई प्रश्रय नदिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूलाई आग्रह गरेका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै खनालले जनताको ठूलो विश्वास प्राप्त गरेको पार्टीले आलोचना सहन सक्ने लोकतान्त्रिक संस्कार अपनाउनुपर्ने बताएका हुन् ।

उनले लेखेका छन्, “राष्ट्रिय स्वतन्त्र पार्टीमा केही असल, चरित्रवान मित्रहरू हुनुहुन्छ । जनताको अद्भूत विश्वास छ । तर स्वतन्त्र व्यक्तिले समसामयिक विचार व्यक्त गर्दा पनि जथाभावी व्यक्तिगत गाली गर्न तम्सिने जत्था किन पाल्नु पर्‍यो ?”

खनालले यसअघि पनि ‘अरिङ्गाल’ शैलीका समूह खडा गरेर बहुमतको शासन चलाउने प्रयास भएको स्मरण गराउँदै त्यस्तो प्रवृत्ति दीर्घकालीन रूपमा सफल नहुने टिप्पणी गरे ।

उनले भने, “यस्तो प्रयत्न ठीक होइन । केही समय चल्ला, त्यसपछि मानिस निराश हुनेछन्। कृपया व्यक्तिगत गालीगलौजमा उत्रिने जत्थालाई निरस्त्र गर्नुहोस् ।”

खनालले असल विचार र स्वस्थ बहसले मात्रै समाजको विकास सम्भव हुने उल्लेख गर्दै गालीगलौज र आक्रामक प्रवृत्तिले लोकतान्त्रिक संस्कार कमजोर बनाउने धारणा व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =