स्मार्ट टेलिकम प्रकरण : एनआईएमबीले भन्यो– कानुनबमोजिम नै कर्जा असुल गरिएको हो, अनुसन्धानमा सहयोग गछौँ

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले आफ्नो कर्जा असुली तथा धितो लिलाम प्रक्रिया प्रचलित कानुनअनुसार भएको स्पष्ट पारेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेलाई अनुसन्धानका लागि भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार राति पक्राउ गरेपछि बैंकले विज्ञप्ति जारी गरेर कानुनसम्मत रूपमै कर्जा असुली प्रक्रिया अघि बढाएको स्पष्ट पारेको हो ।
बैंकले जारी गरेको प्रेस विज्ञप्तिमा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, सुरक्षित कारोबार ऐन तथा कर्जा असुली निर्देशिकाअनुसार नै सम्पूर्ण प्रक्रिया अघि बढाइएको दाबी गरेको छ ।
सीआईबीका अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा गइसकेको सम्पत्तिलाई बैंकले लिलामीमार्फत बिक्री गरेको देखिएको छ । त्यस्तै, लिलामी सूचनामै घर बहाल र विद्युत् महसुलबापत करिब ४० करोड रुपैयाँ छुट्याइएको उल्लेख भए पनि सम्बन्धित घरधनीहरूले रकम नपाएको आरोप सीआईबीको छ । यही विषयलाई लिएर बैंकका सीईओ पाण्डेमाथि ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी अनुसन्धान अघि बढाइएको हो ।
बैंकले भने उक्त आरोप अस्वीकार गर्दै ३८ करोड रुपैयाँ अहिले पनि सुरक्षित अवस्थामा रहेको जनाएको छ । बैंकका अनुसार स्मार्ट टेलिकमसँग सम्बन्धित उपकरण तथा सामग्री २०८२ असोज ३ गते लिलामी गरिएको थियो, जसबाट कुल ४ अर्ब ६० करोड रुपैयाँ संकलन भएको थियो ।
त्यसमध्ये ४ अर्ब २२ करोड रुपैयाँ सहवित्तीयकरणअन्तर्गत प्रवाह गरिएको कर्जा चुक्ता गर्न प्रयोग गरिएको बैंकको भनाइ छ । बाँकी ३८ करोड रुपैयाँ ‘अर्नेस्ट मनि अक्सन एकाउन्ट’ मा रोक्का राखिएको र आवश्यक प्रमाण प्राप्त भएपछि सम्बन्धित घरधनीलाई क्रमशः भुक्तानी गरिने बैंकले स्पष्ट पारेको छ ।
सीईओ पाण्डेलाई नियन्त्रणमा लिएपछि बैंकिङ क्षेत्रभित्र पनि यो घटनाले तरंग सिर्जना गरेको छ । पछिल्ला वर्षहरूमा ठूला कर्जा, धितो व्यवस्थापन र संकटग्रस्त कम्पनीहरूको सम्पत्ति व्यवस्थापन प्रक्रियामाथि नियामक निगरानी बढिरहेका बेला यो प्रकरणले बैंकको कानुनी अधिकार र सरकारी निकायको नियन्त्रणबीचको सीमारेखामाथि बहस सुरु गराएको छ ।
यद्यपि, बैंकले कानुनी प्रक्रिया अन्तर्गत भइरहेको अनुसन्धान प्रक्रियामा सहयोगै पुर्याउने जानकारी दिएको छ । अनुसन्धानका लागि आवश्यक सम्पूर्ण कागजात, विवरण तथा सहयोग सम्बन्धित निकायलाई समयमै उपलब्ध गराइएको उल्लेख गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग रहने प्रतिबद्धता प्रेस विज्ञप्तिमार्फत व्यक्त गरिएको छ ।
साथै बैंकले दैनिक कारोबार, वित्तीय सुशासन, निक्षेपकर्ताको हित, शेयरधनीको विश्वास तथा ग्राहक सेवामा कुनै नकारात्मक असर नपर्ने दाबी गर्दै सम्पूर्ण सरोकारवालालाई ढुक्क रहन आग्रह गरेको छ । एनआईएमबीले नेपाल राष्ट्र बैंक, निक्षेपकर्ता, ग्राहक तथा शेयरधनीप्रति विश्वास र सहयोगका लागि आभारसमेत व्यक्त गरेको छ ।








