‘अफ्रिका फरवार्ड समिट’ सम्पन्न

 एजेन्सी । केन्याको राजधानी नैरोबीमा आयोजना गरिएको पहिलो ‘अफ्रिका फरवार्ड समिट’ सम्पन्न भएको छ । सम्मेलनमा सहभागी विश्वका प्रभावशाली नेताहरू र अफ्रिकी राष्ट्रप्रमुखहरूले महादेशको आर्थिक सम्भावनालाई उजागर गर्न नयाँ वित्तीय संरचना र पद्धति अपनाउनुपर्नेमा जोड दिएका छन् ।

केन्याका राष्ट्रपति विलियम रुटो र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको सह–अध्यक्षतामा दुई दिनसम्म चलेको उक्त शिखर सम्मेलनमा २० भन्दा बढी देशका राष्ट्रपति तथा प्रधानमन्त्री, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय संगठनका प्रमुखहरूका साथै २ हजार ५ सय भन्दा बढी व्यवसायी, लगानीकर्ता र युवा नवप्रवर्तकहरूको सहभागिता रहेको थियो ।

सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै केन्याका राष्ट्रपति रुटोले वर्तमान अन्तर्राष्ट्रिय वित्तीय प्रणालीलाई ‘संरचनात्मक रूपमा नै असमान’ रहेको टिप्पणी गर्नुभयो । उहाँले अफ्रिकी राष्ट्रहरूले उच्च ब्याजदर र सीमित सहुलियतपूर्ण ऋणको सामना गर्नुपरेको उल्लेख गर्दै अबको युग सहायता र परनिर्भरताको नभई लगानी, नवप्रवर्तन र रणनीतिक साझेदारीको हुनुपर्नेमा जोड दिए ।

त्यसैगरी, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अफ्रिकाले सामना गरिरहेको आर्थिक असन्तुलन अन्यायपूर्ण र दिगो नरहेको बताए । वर्तमान वित्तीय संरचना अफ्रिकाको पूर्वाधार र औद्योगिक विकासका लागि मुख्य वाधक बनेको उनको तर्क छ ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विद्यमान बहुपक्षीय वित्तीय संस्थाहरू अफ्रिकाको विकासको लक्ष्य पूरा गर्न सक्षम नरहेको बताए । उनले अफ्रिकी मुलुकहरूलाई सस्तो ऋणको पहुँच सुनिश्चित गर्न र ऋण व्यवस्थापनलाई प्रभावकारी बनाउन वित्तीय सुधारको माग गरे ।

महासचिव गुटेरेसले १ अर्ब ५० करोड जनसंख्या भएको अफ्रिकी महादेशको संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा स्थायी प्रतिनिधित्व नहुनु ऐतिहासिक अन्याय भएको उल्लेख गर्दै यसले विश्वलाई नै घाटा पुर्याइरहेको स्पष्ट पारे ।

अफ्रिकी संघ आयोगका अध्यक्ष महमुद अली युसुफले महादेशमा रहेको पेन्सन र बीमा कोषजस्ता आन्तरिक पुँजीलाई अझै पनि पूर्ण रूपमा परिचालन गर्न नसकिएको बताए । उनले विदेशी ऋणदाताहरूमाथिको निर्भरता कम गर्न अफ्रिकी नेतृत्वमा आधारित वित्तीय संस्थाहरू स्थापना गर्ने रणनीति अघि बढाइएको जानकारी दिए ।

अफ्रिका भविष्यमा विश्वव्यापी आर्थिक वृद्धिको केन्द्र बन्ने विश्वास व्यक्त गर्दै उनले सबैलाई एकजुट भएर अगाडि बढ्न आह्वान गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =