काँग्रेस नेता बस्नेतद्वारा नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि, माग पूरा नभए ‘फरक बाटो’ रोज्ने चेतावनी

काठमाडौँ । नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले पार्टीको वर्तमान नेतृत्व र कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै नेतृत्वले आफ्ना कमजोरी सुधार नगरे फरक कदम चाल्ने चेतावनी दिएका छन् ।

बागमती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले पार्टीभित्र अविश्वासको वातावरण बढ्दै गएको र नेतृत्व तहमा रहेका नेताहरू नै जिम्मेवार हुनुपर्ने धारणा राखेका हुन् ।

नेता बस्नेतले सभापति गगन थापाको नामै किटेर पार्टीलाई ‘हाइज्याक’ गरेको र विधि–विधान विपरीत कब्जा जमाउन खोजेको दाबी गरे । पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि बस्नेतले स्पष्ट सर्तहरू अघि सारे । उनले हाल भइरहेको क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्य तत्काल खारेज हुनुपर्ने माग गरे ।

समितिको निर्णयका आधारमा मात्र अधिवेशनको प्रक्रिया अघि बढाउनुपर्ने उनको अडान छ । आगामी १५ औँ महाधिवेशनका सन्दर्भमा दुई पक्षले घोषणा गरेका अलग–अलग मितिहरू रद्द गरेर सामूहिक भावनाका साथ नयाँ मिति तय गर्नुपर्ने उनले बताए । वार्ता शक्ति र सामर्थ्यसँग हुने भन्दै उहाँले आफ्नो समूहलाई ७७ वटै जिल्ला र भ्रातृ संस्थाहरूमा सशक्त रूपमा परिचालन गर्ने घोषणा समेत गरे ।

उनले भने ‘म गगन थापाजीको सुरुदेखि नै विरोधी हुँ । गलत तरिकाले पार्टी कब्जा गर्ने प्रयास भइरहेको छ, साथीहरूको सहमतिबिना म कहिल्यै उहाँसामु लत्रने वा झुक्ने छैन । पहिले यो प्रक्रिया खारेज गरिनुपर्छ । त्यसपछि शेरबहादुर देउवा, डा. शेखर कोइराला र अन्य समूहहरूलाई मिलाएर एउटा साझा क्रियाशील सदस्यता छानबिन समिति गठन गरिनुपर्छ । हामीले प्रजातन्त्र जोगाउन र पार्टीप्रतिको गिद्धे दृष्टि समाप्त पार्न हिम्मतका साथ अगाडि बढ्नुपर्छ। यदि नेतृत्वले सुध्रिने प्रयास गरेन भने दौडिन सक्ने नयाँ नेतृत्व निस्किनेछ ।’

वर्तमान नेतृत्वको आलोचना गर्दै बस्नेतले पटक–पटक संसदीय र पार्टी निर्वाचन हारेका व्यक्तिहरूले नेतृत्व गर्दा पार्टी कमजोर भएको टिप्पणी गरे । नेता बस्नेतले पार्टी जोगाउन र प्रजातन्त्रको रक्षाका लागि आवश्यकता परे ‘फरक बाटो’ तय गर्न सकिने संकेत समेत दिए । उनले आफ्नो समूहमा देशभरका इमानदार कार्यकर्ता र वरिष्ठ नेताहरूको साथ रहेको दाबी गर्दै अबको कार्यक्रम सशक्त रूपमा अगाडि बढाउने उद्घोष गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =