मुलुकमा प्रधानमन्त्री नै नभएको जस्तो आभास भएर बैठक बहिष्कार गरेका हौँ: हर्क राई

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्रीको कार्यशैली र बैठकमा उनको निरन्तर अनुपस्थितिलाई लिएर आपत्ति जनाउँदै बैठक बहिष्कार गरेका छन् ।

प्रधानमन्त्री स्वयं उपस्थित भई जबाफदेही हुनुपर्ने विषयहरूमा अन्य प्रतिनिधि पठाउने गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष राईले देशमा प्रधानमन्त्रीको प्रत्यक्ष उपस्थिति र सक्रियता नदेखिएको टिप्पणी गरे । अध्यक्ष राईले सत्तापक्षले संसदीय प्रक्रियामा एकलौटी ढंगले काम गरिरहेको आरोप समेत लगाए । विशेषगरी नीति तथा कार्यक्रम र बजेटका सन्दर्भमा पर्याप्त छलफल गर्ने समय नदिई दस्ताबेजहरू अध्ययनका लागि अत्यन्तै कम समय उपलब्ध गराइएको उनको दाबी छ ।

उनले भने ‘प्रधानमन्त्री आफैँ उपस्थित हुनुपर्ने र टेबल गर्नुपर्ने विषयहरूमा अरूलाई पठाउने गरिएको छ । मुलुकमा प्रधानमन्त्री नै नभएको जस्तो आभास भएकाले हामीले विरोधस्वरूप बैठक बहिष्कार गरेका हौँ । आज ठेलीका ठेली किताब दिने र भोलि नै पढेर आउनु भन्ने शैली उचित छैन । नीति तथा कार्यक्रम र बजेट जस्ता गम्भीर विषयमा पनि पर्याप्त समय दिइएको छैन ।’

आफ्नो दल बैठकबाट बाहिरिएको जानकारी दिँदै राईले अन्य दलहरूले पनि विरोध जनाइरहेको र उनीहरू पनि बाहिरिने क्रममा रहेको बताए । सरकारले प्रतिपक्षी आवाजलाई बेवास्ता गर्न खोजेको संकेत गर्दै उनले प्रतिपक्षीलाई कसैले दबाउन नसक्ने चेतावनी दिए । जनप्रतिनिधिले उठाएका यी विषय र सरकारको कार्यशैलीको मूल्याङ्कन आम जनताले गर्ने उनले उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + four =