प्रधानमन्त्रीको उपस्थिति र जबाफदेहिता बिना संसद अघि बढ्न नदिने प्रतिपक्षीको चेतावनी

काठमाडौँ । नेकपा (एमाले) का सांसद गुरु बरालले सरकारको नीति तथा कार्यक्रमको मूल जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्ने बताउँदै उनको अनुपस्थितिमा संसदको कामकारबाही अगाडि बढ्न नदिने चेतावनी दिएका छन् ।
बुधवार संघीय संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद बरालले नीति तथा कार्यक्रम कार्यकारिणीको तर्फबाट प्रधानमन्त्रीले नै प्रस्तुत र रक्षा गर्नुपर्ने धारणा राखे ।
उनले राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रमका क्रममा प्रधानमन्त्रीले देखाएको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरे । सांसद बरालले प्रधानमन्त्रीको अनुपस्थितिमा अन्य मन्त्रीमार्फत जवाफ दिने वा छलफल अगाडि बढाउने कार्य गरिए प्रतिपक्षले त्यसको प्रतिवाद गर्ने स्पष्ट पारे । नीति तथा कार्यक्रम मन्त्रिपरिषद्को साझा दस्ताबेज भए पनि यसको नेतृत्वकर्ताको हैसियतले प्रधानमन्त्रीले नै संसद्मा जवाफ दिनुपर्ने र यसबाट उनी उम्किन नमिल्ने उनको तर्क थियो ।
नीति तथा कार्यक्रममाथिको छलफललाई छोटो बनाएर कर्मकाण्डी प्रक्रियामा मात्र सीमित राख्न खोजिएको भन्दै सांसद बरालले सत्ता पक्षले विवेकभन्दा बलको प्रयोग गरिरहेको आरोप लगाए ।
उनले भने ‘अस्ति राष्ट्रपतिले सम्बोधन गरिरहँदा प्रधानमन्त्री बीचमै हिँडेको हामीले महसुस गरेका छौँ। आज उहाँ स्वयम् उपस्थित भएर छलफलमा उठेका प्रश्नको जवाफ दिनुपर्छ र संसदप्रति जबाफदेही बन्नुपर्छ । अध्यादेशबाट देश चलाउने तरिका लोकतान्त्रिक पद्धतिमाथि गम्भीर प्रहार हो। संसदको बैठक चलिरहेको अवस्थामा अध्यादेशको भार बोकाउनु गलत नजिर हो ।’
सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्न खोजेको प्रति आपत्ति जनाए । उनले हाल मुलुकमा कुनै संकटकालीन अवस्था नरहेको अवस्थामा पनि अध्यादेश ल्याउनुलाई ‘बहुमतमा आधारित निरंकुशतावादी कार्यशैली’ को संज्ञा दिए ।
सांसद बरालले नेपाली सेनाको भूमिका र मर्यादाका विषयमा समेत टिप्पणी गरे । सेना राष्ट्रको पहरेदार भएको उल्लेख गर्दै उनले सुकुम्वासी बस्ती खाली गराउने जस्ता कार्यमा सेनाको प्रयोग हुनु वा सेनाले सिधै पालिकाहरूलाई चिठ्ठी लेखेर विवरण माग्नु संवैधानिक र लोकतान्त्रिक अभ्यास विपरीत भएको जिकिर गरे ।








