‘निर्वाचनको तयारी राम्रो भएन, सुरक्षाकर्मीको व्यवहार पनि ठिक थिएन’–एशियन नेटवर्क फर फ्री इलेक्सन्स

काठमाडौं । हालै सम्पन्न निर्वाचनबारे अन्तर्राष्ट्रिय निर्वाचन पर्यवेक्षण संस्था एशियन नेटवर्क फर फ्री इलेक्सन्सले प्रश्न उठाएको छ ।

संस्थाले बुधवार राजधानीमा एक कार्यक्रम गर्दै गत चुनावमा मतदाता शिक्षा कमजोर रहेकोदेखि निर्वाचन पर्यवेक्षणले समेत स्वतन्त्रता पाउन नसकेको बताएको हो ।

संस्थाकी मुख्य निर्वाचन विश्लेषक एम एस रोना कार्तोसले गत निर्वाचनमा निर्वाचन आयोगको तयारी अपर्याप्त रहेको बताइन् । उनले पर्यवेक्षणका क्रममा सुरक्षाकर्मीको व्यवहारका कारण पर्यवेक्षण कार्य प्रभावित भएको समेत बताइन् । उनकाअनुसार निर्वाचन प्रक्रियामा समावेशीता र पारदर्शिता थिएन बरु पहुँच र सहभागितामा बाधा सिर्जना भएको उनको भनाइ छ ।

कार्ताेसले मतदाता शिक्षाका कार्यक्रम प्रभावकारी र पहुँचयोग्य बन्न नसकेको आफूहरूले देखेको बताइन् । उनकाअनुसार अपाङ्गता भएका व्यक्तिका लागि आवश्यक सामग्री तथा सहजीकरणको अभाव देखिन्थ्यो ।

मानव अधिकार तथा अपाङ्गता अधिकारसम्बन्धी संस्थासँग गरिएको छलफलमा निर्वाचन सामग्रीहरू सबै वर्गका मतदातामैत्री नरहेको निष्कर्ष आएको समेत उनले सुनाइन् ।

सरकारले चुनावमा विशेषगरी सांकेतिक भाषाका दोभासे, श्रव्य–दृश्य सामग्रीमा ‘सबटाइटल्स’ तथा अन्य सहायक प्रविधिमा यस पटक पर्याप्त ध्यान नदिइएको उनको भनाइ छ ।

निर्वाचनको दिन पर्यवेक्षकहरूले मतदान केन्द्रमा सहज पहुँच नपाएको विषय पनि सो संस्थाले उठाएको छ । कार्ताेसका अनुसार कतिपय सुरक्षाकर्मीलाई निर्वाचन पर्यवेक्षकको अधिकार र भूमिकाबारे स्पष्ट जानकारी नहुँदा पर्यवेक्षकलाई केन्द्र प्रवेशमै रोक लगाइएको थियो ।

कतिपय स्थानमा प्रवेश पाए पनि पर्यवेक्षकलाई १० मिनेटभन्दा बढी मतदान केन्द्रभित्र बस्न नदिइएको र स्वतन्त्र रूपमा अवलोकन गर्न अवरोध सिर्जना गरिएको उनले बताइन् । यस्तो व्यवहारले निर्वाचनको निष्पक्ष अनुगमनमा असर पुगेको सो संस्थाको निष्कर्ष छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 4 =