एमाले नेता थापाको आरोप- रास्वपा विचारधारामा आधारित दल होइन

काठमाडौँ । नेकपा (एमाले) का संसदीय दलका नेता रामबहादुर थापाले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वैचारिक आधार र राजनीतिक चरित्रमाथि गम्भीर प्रश्न उठाएका छन् ।
प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा बोल्दै उनले यस्तो प्रश्न उठाएका हुन् ।
थापाले रास्वपा कुनै सुव्यवस्थित वा सुसंगत विचारधारामा आधारित दल नभई आकस्मिक रूपमा उत्पन्न भएको अति महत्वाकांक्षी तथा अराजक समूहहरूको अस्थायी गठजोड भएको आरोप लगाए ।
नेता थापाले भने ‘रास्वपा कुनै सुसज्जित विचारधारमा आधारित दल होइन । यो आकस्मिक अप्रत्याशित रूपमा उत्पन्न भएको अति महत्त्वाकाङ्क्षी अराजक जमातहरूको अस्थायी गठजोड हो । यो दार्शनिक रूपमा सारसंग्रवाद र राजनीतिक रूपमा लोकप्रियतावादको दलदले जगमा अडिएको हो । यो चरम अवसरवादी र अस्थिर प्रवृत्ति हो । यो रूपमा अत्यन्त प्रिय देखिन्छ । तर सार परिणाममा अत्यन्तै घातक हुन्छ । यो ग्ल्यामर र स्टन्टको आकर्षक कला पनि हो ।’
उनले रास्वपा चरम अवसरवादी र अस्थिर प्रवृत्ति भएको भन्दै यसको परिणाम अत्यन्त घातक हुने बताए ।








